सामान्य प्रशासन मन्त्री साहको पदभार आज

काठमाडौं । जनमत पार्टीका तर्फबाट अनितादेवी साहले आज सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारीको शपथ लिने भएकी छन् ।

आज बिहान १० बजे राष्ट्रपति भवन शीतल निवासमा शपथ लिने कार्यक्रम रहेको जनमत पार्टीका प्रवक्ता डा शरदसिंह यादवले जानकारी दिए । जनमत पार्टीको सचिवसमेत रहेकी साह समानुपातिकतर्फ प्रतिनिधिसभाको सांसद हुन् । साह जनमत पार्टी स्थापनाकालदेखि नै पार्टीका विभिन्न जिम्मेवारीमा रहेर काम गर्दै आएकी छन् ।

उनी किसान आन्दोलनको अग्रमोर्चामा सहभागी भएकी थिइन् । धनुषा जिल्लाको पार्टी इनचार्जको जिम्मेबारीसमेत निर्वाह गरिसकेकी साहकै नेतृत्वमा धनुषाको पोर्ताहामा किसान आन्दोलन भएको थियो । यसअघि उनले विसं २०७९ को स्थानीय तहको निर्वाचनमा जनकपुर उपमहानगरपालिकाको प्रमुखका रूपमा उम्मेदवारी दिएकी थिइन् ।