लुम्बिनी सरकारले उद्धार सामग्री खरिद गर्न सकेन

बुटवल असार १७, । लुम्बिनी प्रदेशका पहाडी जिल्लाहरु पाल्पा, गुल्मी, अर्घाखाँची, रोल्पा, रुपन्देही र प्युठान पहिरो तथा तराईका जिल्ला बर्दिया, बाँके, नवलपरासी, रुपन्देही, दाङ र कपिलवस्तु बाढीको जोखिममा छन् ।

मनसुन पूर्वतयारी प्रतिकार्य योजना अनुसार लुम्बिनी प्रदेशमा यस वर्ष ७९ हजार ९ सय ७९ घर परिवार मनसुनजन्य विपदबाट प्रभावित हुने अनुमान छ । मुख्यमन्त्रीदेखि प्रदेशसभास्थल समेत रहेको बुटवल उपमहानगरपालिका गत सोमबार सामान्य वर्षमा पनि डुबानमा पर्यो ।

मौसम पूर्वानुमान महाशाखा तथा मौसमविद्हरुले यो वर्ष पनि धेरै वर्षा हुने र जोखिम पनि बढी हुने बताइरहेका छन् । विगत वर्षभन्दा बढी जोखिम हुने आँकलन गरिएको र वर्षाले त्यसको लक्षण देखाइसकेको अवस्थामा पनि लुम्बिनी प्रदेशमा विपदको सामना गर्ने विशेष तयारी भने छैन । मनसुनी वर्षा र विपदका घटना सुरु भइसक्दासमेत लुम्बिनी प्रदेश सरकारले सम्भावित विपदको सामना गर्ने उद्धार सामग्री नै खरिद गर्न सकेको छैन ।

विपद आइहाले पहिलो काम विपदमा परेकालाई उद्धार गर्नु हो, तर सरकारले तीन पटक टेण्डर गर्दासमेत उद्धार सामग्री खरिद गर्न सकेको छैन । प्रभावग्राही बोलपत्रदाता टेण्डर प्रकृयामा नआउँदा सरकारले टेण्डर नै रद्ध गरेको छ । जसले गर्दा सरकारसँग उद्धार सामग्रीको अभाव छ ।