ढल निकास नहुँदा बुटवल जलमग्न

रुपन्देही १४ असार । ढल निकास व्यवस्थित नहुँदा एकछिनकै वर्षाले मंगलबार बुटवलका मुख्य बजार डुबानमा परेका छन् । मंगलबार बिहानैदेखिको आएको अविरल वर्षाले बुटवल जलमग्न भएको हो ।

मुख्य बजार क्षेत्रमै ढलको उचित निकास नहुँदा निर्माणाधीन सडकबाटै भेल बगेको छ । राजमार्ग चौराहा–गोलपार्क ६ लेन सडक विस्तारको काम समयमै नहुँदा यो समस्या आएको हो । निर्माण कम्पनीले सडक सम्याउने र कालोपत्रे गरे पनि नाली व्यवस्थापन नहुँदा सडकमै वर्षाको पानी बगेको हो ।

राजनीतिक चलखेलका कारण मुख्य राजमार्ग निर्माण वर्षौंदेखि अलपत्र छ । राजमार्गसँगै नाली निर्माण रोकिँदा सामान्य वर्षा हुँदासमेत जलमग्न हुने अवस्था आएको भन्दै स्थानीय व्यवसायी तथा सर्वसाधारण आक्रोशित छन् ।

राजमार्ग छेउका व्यवसायीले दलका नेताहरुको साथ लिएर अदालतको बलमा सडक निर्माण रोकेका थिए । गतवर्ष अदालतले मुद्दा किनारा लगाए पनि ठेकेदारले काममा ढिलाइ गरेको छ । सडक निर्माणमा समन्वय नगरेको भन्दै यसअघि बुटवलका तत्कालीन मेयर शिवराज सुवेदीले चर्को आलोचना गरिएको थियो । सुवेदीले आफ्नो अधिकार क्षेत्र बाहिरको आयोजनामा हस्तक्षेप गर्न नमिल्ने भन्दै समन्वय गरिरहेको बताएका थिए । उनले ठेकेदार सम्पर्कविहीन रहेकाले सडक निर्माणमा ढिलो भएको जवाफ दिँदै आएका थिए ।

बुटवलका नवनिर्वाचित मेयर खेलराज पाण्डेले सडकमै पुगेर अध्ययन अवलोकन गरेका छन् । तर, स्थानीय ठेक्काको म्याद थप गर्न काममा ढिलाइ गरिरहेको आरोप लगाएका छन् । अन्धाधुन्ध सडक निर्माणले स्थानीयलाई झन् सास्ती भएको छ । नाली व्यवस्थापन नगरी सडक कालोपत्रे गर्ने तयारीमात्रै गरिएको छ ।

बुटवलका मुख्य बजार क्षेत्रहरु गोलपार्क, लक्ष्मीनगर, ट्राफिकचोक, अस्पताल लाइन हुँदै नयाँ बसपार्कसम्म सडक हिलाम्य छ । कहिले स्थानीयको विरोध र मुद्दा मामिला त कहिले ठेकेदार सम्पर्कमा नआउनेजस्ता कारणले सडक निर्माणमा प्रगति हुन सकेको छैन ।

नगर प्रमुख पाण्डेले प्रतिबद्धताअनुरुप काम नभएको र बारम्बार मोबाइल स्वीचअफ गर्ने गरेकाले ठेकेदारसँग नियमित सम्पर्कसमेत हुन नसकेको बताए ।२०७३ चैत १७ गते ठेक्का सम्झौता भई ०७६ असोज १२ गतेसम्म काम सक्नुपर्ने भए पनि जग्गा विवादले उक्त समय अदालती उल्झनमै बितेको थियो । म्याद थपेर २०७९ असार ३० गते पुर्‍याइएको छ । सडक निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनी कञ्चनजंगा विरुवा जेभीको सुस्त कामले यस समयावधिभित्र काम नसकिने निश्चित जस्तै देखिएको छ ।