सरकार पैसाबाहेक अरु केही पनि नसोच्नेहरुको हातमा पुगेको अध्यक्ष ओलीको आरोप

२२ जेठ, काठमाडौं ।  प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार पैसाबाहेक अरु केही पनि नसोच्नेहरुको हातमा पुगेको टिप्पणी गर्नु भएको छ । 

अध्यक्ष ओलीले वातावरण विनाशको डिलमा पुग्न लागेको उल्लेख गर्दै यसबारे केही नलेज छ कि छैन ? भनि सरकारलाई प्रश्न समेत गर्नु भयो । विश्व वातावरण दिवसको अवसर पारेर आईतबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले नेपालको हिमालले वातावरण संरक्षणमा महत्वपूर्ण भूमिका खेल्न सक्ने भएकै कारण आफू नेतृत्वको सरकारले तय गरेको ‘सगरमाथा संवाद’ कार्यक्रमलाई अगाडि बढाउन वर्तमान सरकार सक्षम नभएको बताउनु भयो । उहाँले वातावरणीय प्रश्नमा नेपालको हिमाल महत्वपूर्ण रहेको विषयमा आफूले सरकारमा रहँदा विश्वका नेताहरुसँग संवाद गरेको उल्लेख गर्दै त्यसको महत्व दर्शाउनका लागि अन्तराष्ट्रिय स्तरको ‘सगरमाथा संवाद’ कार्यक्रम संचालन गर्ने निर्णय गरिएको पनि स्मरण गराउनु भयो । तर त्यो सन् २०२० मा कोभिडका कारण  अघि बढन नसकेको र त्यसपछि अघि बढाउन खोज्दा सरकारबाट हटनुपरेको अध्यक्ष ओलीको भनाई थियो । वातावरणीय संरक्षणको प्रश्नमा नेपालको भूमिका महत्वपूर्ण रहेकोतर्फ पनि विश्व नेताहरुको ओलीले ध्यानाकर्षण गराउनु भयो । उहाँले भन्नु भयो, ‘हाम्रा हिमालहरुले दिएको ओश, हाम्रा हिमालहरुले दिएको पानीको ससना कोणहरु, जो हावामा पठाइएको छ । त्यसको असरका कारण पुरै ड्राई भएको हृुँदैन ।

मैले संयुक्त राष्ट्र संघका वातावरणको सम्बन्धमा काम गर्ने लिडरहरु, लिडिङ परसनालिटी, जसले इन्भारोमेन्टको बारेमा काम गर्छ । उनीहरुलाई मैले के हो माउन्टेन, माउन्टेन क्लाईमेट के हो र हिमाल नेपालमा मुख्यरुपमा छन । सबभन्दा धेरै त नेपालमा छ । नेपालको १७ प्रतिशत भूभाग हिमाल छ । यो खाली नेपालका लागि मात्रै महत्वपूर्ण छैन  । र, हिमालको क्लाईमेट भनेको हाम्रो लागि हैन, हाम्रो निम्ति मात्रै होइन । यो विश्वका लागि हो । त्यसकारण विश्वले यसमा बुझ्नु पर्दछ भनेर मैले इन्टरनेशनल फोरममा, यूएनका जिम्मेवार व्यक्तिहरुसँगको भेटमा सबै ठाउँमा यसलाई उठाएको छु । र, यसै प्रयोजनका लागि हामीले सन् २०२० मा अहिलेभन्दा २ वर्ष अगाडि हामीले सगरमाथा संवाद आयोजना गर्न खोजेका थियौं । एभरेष्ट डाईलग भनेर हामीले आयोजना गर्न खोजेका थियौ । तर त्यो कोभिड १९ का कारणले डिष्टर्व भयो । र गएको सेप्टेम्बरम हामीले आयोजना गर्नका लागि तय गरिएको थियो, अनफरचुनेटली हामी जुलाईतिरै गयौं होला ।

हामी सरकारबाट हटेपछि कसले कसले सोच्ने वातावरण, कसले सोच्ने अरु । पैसाबाहेक अरु नसोच्नेहरुका हातमा सरकार पुगेपछि के को, वातावरण के को के ? त्यो सबै टुंगियो कुरा । त्यसकारण अहिले यी सब कुराहरुतिर सरकारका मान्छेहरुलाई मलाई थाहा छैन । केही रुचि छ  कि छैन, नलेज छ कि छैन । उहाँहरु हेर्नु हुन्छ कि हुन्न ? मैले देखेको के हो भने–व्यूरोक्र्याटसले ड्राफ्ट गरिदिएका फरमेट भित्रका स्टेटमेन्ट बढिबाची गरिदिने सम्मको खालको स्थिति बनेको देख्छु । त्यसबाट हामीले अलिमाथि उठन जरुरी छ र, हामी हरेक नागरिक यसमा सजग हुन जरुरी छ । सचेत हुन जरुरी छ । यसको समग्र अर्थ र महत्व बुझ्न जरुरी छ । वातावरणीय संरक्षणको प्रश्नमा विश्वले र नेपाल वातावरणको सन्दर्भमा बढि सचेत छ । बढि महत्वपूर्ण छ नेपाल । वातावरणीय प्रश्नमा विश्वले एमेजोन रेन फरेष्टमा मात्रै ध्यान दिने होईन, त्यसको चर्चा मात्रै गर्ने होईन कि हाम्रा माउन्टनको पनि चर्चा गर्नु पर्दछ । रेन फरेन्ट अन्त पनि बनाउन सकिएला । तर, हिमाल रोप्न सकिदैन । माटोलाई जिवित राख्न, धर्तीलाई जिवित राख्न, पृथ्वीलाई जिवित राख्न आवश्यक छ, मानव जातिको भविष्य सुरक्षित गर्नका लागि ।’

अध्यक्ष ओलीले वातावरण संरक्षणका लागि वनको भन्दा पनि हिमालको भूमिका महत्वपूर्ण हुने भएकाले विश्व नेताहरुले नेपालको हिमालबारे चर्चा गर्नु अति जरुरी रहेको तर्क गर्नु भयो ।