नेपाल उद्योग परिसंघको भारत र बंगलादेश लक्षित पर्यटन प्रवद्र्धन अभियानको सुभारम्भ

१९ जेठ, काठमाडौं ।  नेपाल उद्योग परिसंघले भारत र बंगलादेशका पर्यटकलाई लक्षित गर्दै समर टुरिजम क्याम्पेन चलाएको छ । 

बिहीवार परिसंघले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै भारत र बंगलादेशमा रहेका प्रकेतिप्रेमीहरुलाई नेपाल घुमाउन समर टुरिजम क्याम्पेन शुरु गरेको हो । परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले कोभिड १९ पछि भारतीय र बंगलादेशीसहित अन्य मुलुकका पर्यटक समेत बिस्तारै बाहिर निस्कन थालेको अवस्थामा उनीहरुलाई नेपालमा आकर्षित गर्न यो अभियान सञ्चालन गरेको बताउनु भयो । उहाँले हाल भारत एवं बंगलादेशमा निकै गर्मी रहेको र गर्मी मौसममा उनीहरु बाहिर भ्रमण गर्न निस्कन खोजिरहेको बेला नेपाललाई नै गन्तव्य बनाउन यो अभियानले आकर्षित गर्ने विश्वास लिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘पर्यटनले नेपाललाई विश्वमा चिनाएको छ । पर्यटन यस्तो उद्योग हो जहाँ एक विदेशी एक पटक आउँदा त्यसले धेरै क्षेत्रमा मूल्यअभिबृद्धि गर्नुका साथै विदेशी मुद्रा आर्जन हुन्छ । त्यसैले परिसंघले नेपालको पर्यटन प्रबद्र्धन गर्न र पर्यटक भित्र्याउन यो अभियान संचालन गरेको हो ।’

त्यस्तै नेपाल उद्योग परिसंघका उपाध्यक्ष राजबहादुर शाहले भारत र बंगलादेशको उच्च गर्मीबाट शीतलता खोजिरहेका भारतीय र बंगलादेशी पर्यटकका लागि  नेपालको मौसम अनुकुल रहेकाले यो अभियानले उनीहरुलाई आकर्षित गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले कोभिडका कारण बाहिर निस्किन नसकेका पर्यटकहरुले यसको लाभ लिने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपालमा जस्तो अनुकूल मौसम अन्य कुनै पनि मुलुकमा छैन । कोभिडका कारण दुई वर्ष बाहिर निस्किएनन् । भारत र बंगलादेशमा अहिले निकै गर्मी छ । त्यसैले उनीहरु नेपालको मौसममा रमाउन आउन यो अभियानले पक्कै आकर्षित गर्नेछ ।’

परिसंघका महानिर्देशक दीपकराज जोशीले भारत र बंगलादेशमा रहेका परिसंघको नेटवर्कबाट पनि यो अभियान प्रवद्र्धन गरिने बताउनु भयो । उहाँले नेपाल पर्यटनको लागि उचित र राम्रो गन्तव्य रहेको बताउनु भयो । उहाँले अहिले देशका सबै ठाउँ खुलेको भन्दै पर्यटनमा सहज हुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले देशका सबै ठाउँ खुलेका छन्, यसले पर्यटकलाई थप सहज पार्नेछ । नेपालका सबै प्रमुख गन्तव्यहरुमा राम्रो होटलहरु छन् । घुम्ने ठाउँ राम्रो छ । त्यसले पर्यटकलाई लोभ्याउँछ ।’

परिसंघले भारतमा अल इण्डिया एशोसिएशन अफ इण्डस्ट्रीज, फेडेरेसन अफ इण्डियन इण्डस्ट्रीज, फेडेरेसन अफ इण्डियन च्याम्बर्स अफ कमर्स एण्ड इण्डस्ट्रीज, पीएचडी च्याम्बर अफ कमर्स एण्ड इण्डस्ट्रीसँग सहकार्य गर्दै आएको छ । यस्तै बंगलादेशको मेट्रोपोलिटीन च्याम्बर अफ कमस एण्ड इन्डस्ट्री, र ढाका च्याम्बर अफ कमर्स एण्ड इण्डस्ट्रीसँग पनि परिसंघले सहकार्य गर्दै आएको छ ।