‘समयमै उद्दार गर्न सकिएको भए केही घाइतेहरु बाँच्न सक्ने थिए’ : उद्दारमा खटीएका सुरक्षाकर्मी

१६ जेठ,  काठमाडौं । तारा एअर दुर्घटनाका २४ घण्टापछि मृतहहरुको उद्दार गरिएको छ । दुर्घटनास्थल मुस्ताङको थासाङबाट सुरक्षाकर्मीहरुले मृतकहरुको शव बटुल्दै धमाधम उद्दार गरेका छन् ।

प्रतिकूल मौसम तथा जटिल भौगोलिक अवस्था हुँदा पनि नेपाल नागरिक उड्डयन प्राधिकरण, खोज तथा उद्धार समन्वय केन्द्रमार्फत हवाई तथा स्थलमार्गबाट खोजी गर्दा वायुयान फेला परेको र हाल उद्धारकर्मी दुर्घटनास्थलमा पुगेर उद्धार कार्य जारी राखेको तारा एयरले जनाएको छ।

उद्दारको क्रममा देखिएको दृश्यअनुसार समयमै उद्दार गर्न सकिएको भए केही घाइतेहरु बाँच सक्ने सम्भावना देखिएको एक उद्दारमा खटीएका सुरक्षाकर्मीले बताए ।

नेपाल नागरिक उड्यन प्राधिकरणले तारा एयरको विमान दुर्घटना हुँदा ज्यान गुमाएकामध्ये हालसम्म १४ जनाको शव फेला परेको जनाएको छ । प्राधिकरणका अनुसार उनीहरूको शव भने पहिचान हुन बाँकी छ । विमानमा सवार केही यात्रीको अझै शव फेला परेको छैन । नेपाली सेना, प्रहरी र स्थानीयवासी बिहानैदेखि उद्धार कार्यमा खटिएका छन् ।

प्राधिकरणले एयर डाइनेष्टी, कैलाश हेलिकप्टर र फिस्टेल एयरको हेलिकप्टर विमान दुर्घटना भएको स्थलमा अवतरण गरेर उद्धार कार्य भइरहेको जानकारी पनि दिएको छ । विमान दुर्घटना मुस्ताङको थासाङ गाउँपालिका २ को सानुसरे भन्ने ठाउँमा हिजो बिहान भएको हो ।