स्थानीय तह निर्वाचनको परिणाम सन्तोषजनक भएन : ओली

११ जेठ, काठमाडौं ।  नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनको परिणाम सन्तोषजनक नभएको बताउनुभएको छ ।

बुधबार नेकपा(एमाले)को संसदीय दलको बैठकमा सम्बोधन गर्दै अध्यक्ष ओलीले स्थानीय तह निर्वाचनको परिणाम पार्टीका लागि सन्तोषजनक नभएको बताउनुभएको हो । उहाँले एमालेले ठुलो घेराबन्दी र प्रतिकुलताका बिचमा निर्वाचनमा सामेल हुनुपरेको भन्दै उहाँले आगामी दिनमा पार्टीलाई थप संगठित र व्यवस्थित बनाउँदै निर्वाचनको तयारीमा लाग्नुपर्ने बताउनुभएको प्रमुख सचेतक विशाल भट्टराईले बताउनुभयो । अध्यक्ष ओलीको सम्बोधन बारे जानकारी दिदैँ प्रमुख सचेतक भट्टराईले भन्नुभयो – ‘हाम्रा पार्टीका अध्यक्षले हालै सम्पन्न भएको स्थानीय तहको निर्वाचनको परिणामको बारेमा संक्षिप्त विश्लेषण गर्दै धेरै ठुलो घेराबन्दी र प्रतिकुलताका बिचमा नेकपा(एमाले) ले जुन परिणाम प्राप्त गरेको छ । त्यो सन्तोषजनक नभएपनि त्यसले नेकपा(एमाले)लाई थप सुसंगठित भएर, सुव्यवस्थित भएर, सुविचारित भएर आगामी दिनमा थप निर्वाचनका लागि तयारी गर्नुपर्छ भन्ने निष्कर्ष उहाँले प्रस्तुत गर्नुभयो ।’

ओलीले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले मुलुकको बास्तविकतालाई सम्बोधन गर्न नसक्ने टिप्पणी गर्नुभएको प्रमुख सचेतक भट्टराईले बताउनुभयो । नीति तथा कार्यक्रम सतही भएको र नीतिमा भन्दापनि कार्यक्रममा आधारित भएको ओलीको विश्लेषण छ । प्रमुख सचेतक भट्टराईले भन्नुभयो – ‘हाम्रो सांसदहरुलाई हाम्रो पार्टीको तर्फबाट व्यवस्थित तरिकाले, तर्कयुक्त तरिकाले, वस्तुसम्मत् तरिकाले, त्यसको चिरफार गरेर संसदमा प्रस्तुत हुन पनि उहाँले आग्रह गर्नुभयो । हाम्रो प्रस्तुतीहरु अध्ययनशील हुनुप¥यो । बौद्धिक हुनुप¥यो । खण्डन तर्कयुक्त हुनुप¥यो । सरकारले प्रस्तुत गरेको नीति र कार्यक्रम मुलुकको अहिले बास्तविकतालाई सम्बोधन गर्न सक्ने र मुलुकको बास्तविक चित्र प्रस्तुत गर्ने भन्दापनि ज्यादा सतही भएको र त्यो नीतिमा आधारित भएर भन्दापनि कार्यक्रममा आधारित जस्तो मात्रै देखियो । नीतिहरु त्यसमा खुलेनन् भन्ने खालको चर्चा उहाँले नीति र कार्यक्रमको सन्दर्भमा गर्नुभएको थियो ।’

संसदीय दलको बैठकमा सम्बोधन गर्दै अध्यक्ष ओलीले हालै अमेरिकी उपविदेश मन्त्रीले नेपाल भ्रमणको क्रममा तिब्बती शरणार्थीलाई भेटेर उक्साउने काम गरेको भन्दै त्यस्तो गर्नु बेठिक भएको बताउनुभयो । उपविदेशमन्त्रीको भ्रमणका क्रममा नेपालको परराष्ट्र नीतिको स्थापित मुल्यहरुलाई खण्डित गर्ने व्यवहार भएको उहाँको भनाई छ । अध्यक्ष ओलीको भनाई उदृत गर्दै प्रमुख सचेतक भट्टराईले भन्नुभयो – ‘अमेरिकी उपविदेश मन्त्रीको नेपाल भ्रमणमा केही हाम्रा परराष्ट्र नीतिका स्थापित मुल्यहरु जुन छन् त्यसलाई खण्डित गर्ने प्रकारका व्यवहारहरु भयो । हामी सधैभरी हाम्रो परराष्ट्र नीति असंलग्न परराष्ट्र नीति छ । हामी जहिलेपनि राष्ट्रिय हितलाई प्राथमिकता दिन्छौँ । हामी अहस्तक्षप र कुनैपनि देशको मामिलामा हामी जहिलेपनि असंलग्न रहदै आएको स्थितिमा तिब्बती शरणार्थीहरुको क्याम्पमा पुगेर त्यहाँ उक्साउने काम गरियो र नेपाली भुमिलाई प्रयोग गर्ने काम गरियो । त्यो बास्तवमा बेठिक थियो भन्ने कुरापनि हाम्रो पार्टीले सविस्तार त्यसको चर्चा गर्नुभयो ।’

ओलीले सरकारको नीति तथा कार्यक्रम माथि व्यवस्थित, तर्कयुक्त र वस्तुसम्मत् तरिकाले चरिफार गर्दै संसदमा प्रस्तुत हुन सांसदहरुलाई निर्देशन समेत दिनुभएको प्रमुख सचेतक भट्टराईले जानकारी दिनुभयो ।