नेपाल युगाण्डासँगको तेस्रो खेलमा पनि पराजित

५ जेठ, काठमाडौं । लगातार तीन खेलमा पराजित भएसँगै नेपाली राष्ट्रिय महिला टिमले घरेलु मैदानमा जारी युगाण्डाविरुद्धको ट्वान्टी–२० श्रृंखला दुई खेल अगावै गुमाएको छ ।
श्रृंखला गुमाएपछि नेपाली टोलीकी कप्तान रुबिना क्षेत्रीले खेलाडीको प्रदर्शन नै फितलो भएको प्रतिक्रिया दिनुभयो । कीर्तिपुरस्थित त्रिभूवन विश्व विद्यालयको मैदानमा सम्पन्न पाँच ट्वान्टी–२० श्रृंखला अन्र्तगत तेस्रो खेल युगाण्डासँग ६ विकेटले पराजित भएपछि कप्तान रुबिना क्षेत्रीले पराजयको जिम्मा आपूmले लिने बताउनु भयो । खेल पछिको पत्रकार सम्मेलनमा अपेक्षा अनुसारको प्रदर्शन ब्याटिङ र बलिङ पक्षमा नहुँदा श्रृंखला गुमाउनु परेको स्वीकार गर्नुभयो । कप्तान रुबिनाले नेपाली खेलाडीमा मुख्य फिटनेस र फिल्डिङमा चुकेको बताउनु भयो ।
अघिल्ला दुई खेल गुमाइसकेको नेपालले बिहीवार जित्नै पर्ने दबावसहित मैदानमा उत्रिएपनि नेपाल युगाण्डासँग ६ विकेटले पराजित भएको हो । जसका कारण पाँच ट्वान्टी–२० खेलको श्रृंखला भ्रमणकारी टोली युगाण्डाको पक्षमा पुगेको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले युगाण्डा सामु १ सय रनको लक्ष्य प्रश्तुत गरेको थियो । जवाफी ब्याटिङमा उत्रिएको युगाण्डाले १८.२ ओभरमा मात्र तीन विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो । फितलो बलिङ गरेको नेपालविरुद्ध युगाण्डाका लागि ओपनर केभिन अविनोले सर्वाधिक ४२ रनको अविजित इनिङ खेल्नुभयो भने अर्की ओपनर लियोना बाब्रिए ५ रन बनाउनु भयो । यस्तै, यानेट एम्बाबाजीले २७ रनको पारी खेल्दा रिता मुसामालीले ९ रनको योगदान गर्नुभयो । सामान्य लक्ष्य पछ्याएको युगाण्डाका लागि पाँचौं नम्बरमा ब्याटिङ गर्न आउनुभएकी रिता न्यान्गेन्डो १ रनमा पेभेलियन फर्किँदा फियोना कुलुमे ४ रनमा अविजित रहनुभयो । युगाण्डाको ४ विकेट निकाल्ने क्रममा तीव्र गतिकी बलर कविता कुँवरले २ तथा रुबिना क्षेत्री र इन्दु बर्माले समान १÷१ विकेट लिनुभयो । यसअघि पहिला ब्याटिङ गरेको नेपालका लागि ज्योती पाण्डे अर्धशतक बनाउनबाट तीन रनले चुक्नुभयो । उहाँले ५४ बलमा पाँच चौकासहित ४७ रनको महत्वपूर्ण इनिङ खेले पनि अन्य ब्याट्सवुमनले साथ दिन सकेनन् । लगातार विकेट गुमाएको नेपालका लागि कप्तान रुबिना क्षेत्रीले अविजित १८ रन जोड्नु बाहेक अन्य ब्याट्सवुमनले सम्झनलायक प्रदर्शन गर्न सकेनन् ।
किफायती बलिङ गरेको युगाण्डाका लागि फियोना कुलुमे, कोन्ची अवेको र साराह एकिटेङले २–२ तथा यानेट एम्बाबाजी र रिता मुसामालीले १–१ विकेट आफ्नो नाममा लेखाउनु भयो । यससँगै नेपालले श्रृंखला गुमाउन पुगेको छ । यद्यपि दुई खेल अझै बाँकी छन् । नेपालले पहिलो ट्वान्टी–२० मा १२ रनले पराजित भएको थियो भने दोस्रो ट्वान्टी–२० मा १ विकेटले स्तब्ध बनेको थियो । चौथो खेल अब नेपालले शुक्रवार खेल्नेछ भने अन्तिम खेल शनिवार हुनेछ ।

प्रतिकृया दिनुहोस्