स्थानीय तह निर्वाचनमा गठबन्धन सफल : शिक्षा मन्त्री पौडेल

५ जेठ, काठमाडौं ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले स्थानीय तह निर्वाचनमा गठबन्धन सफल भएको बताउनुभएको छ ।

बिहीवार प्रतिनिधि सभा बैठकका लागि संसद भवन पुग्नुभएका मन्त्री पौडेलले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै स्थानीय तह निर्वाचनमा गठबन्धन सफल भएको बताउनुभएको हो । उहाँले गठबन्धनभित्र आंशिक रुपमा कमी, कमजोरी भएपनि त्यसलाई सच्याउने बताउनुभयो । मन्त्री पौडेलले गठबन्धनको पक्षमा उल्लेख्य जनमत प्रकट भएको पनि बताउनुभयो । उहाँले भन्नुभयो – ‘गठबन्धन सफल भयो । तपाई ढुक्क हुनुहोला गठबन्धन सफल भयो । आंशिक रुपमा भएका कमि, कमजोरीहरुलाई हामी सच्याउँछौ, समिक्षा गर्छौ । गठबन्धनकै कारणले उल्लेख्य रुपमा गठबन्धनको पक्षमा जनमत पनि प्रकट भएको छ । त्यसो भएको हुँदाखेरी गठबन्धन असफल भन्न मिल्दैन ।’

मन्त्री पौडेलले माओवादी केन्द्र आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सम्म यही गठबन्धनलाई निरन्तरता दिने पक्षमा रहेको बताउनुभयो । संविधान र राजनीतिक प्रणाली अझैपनि खतरामा रहेको हुँदा गठबन्धन आवश्यक रहेको उहाँको भनाई छ । उहाँले भन्नुभयो – ‘अहिलेको स्थिति अनुसार हामी गठबन्धन नै गरेर जान्छौँ । अहिले पनि जे विषयमा, जे उद्देश्य लिएर हामीले गठबन्धन गरेका थियौँ । संविधान, विधि, पद्धती, प्रणाली खतरामा छ भनेर गरेको हिजोको हाम्रो विश्लेषण अहिले पनि कायम रहेको हुँदाखेरी अब आउने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनसम्म हामी गठबन्धन गर्ने पक्षमा नै छौँ ।’

मन्त्री पौडेलले कांग्रेसले माओवादी केन्द्रलाई भोट नहालेको भन्ने कुरा साँचो नभएको स्पष्ट पार्नुभयो । केही ठाउँमा त्यस्तो भएपनि सबै ठाउँमा नभएको उहाँको भनाई छ । उहाँले गठबन्धन सँग असन्तुष्ट रहेको नेकपा(एकीकृत समाजवादी)लाई गठबन्धनमै रहन आग्रह समेत गर्नुभयो । उहाँले भन्नुभयो – ‘समिक्षा हामी गर्छौ । तर धेरै ठाउँमा भोट नहालेको भन्नेकुरा साँचो होइन । आंशिक रुपमा चाहीँ त्यस्तो देखिएको हामी पाउँछौँ । आंशिक रुपमा देखिएका ठाउँमा हामी गम्भिर समिक्षा गरेर आगामी दिनमा अब गठबन्धन गर्दाखेरी इमान्दारीतापूर्वक जो पक्षसँग गठबन्धन भएको छ त्यसको इमान्दारिता प्रस्तुत गर्नेगरी हामी छलफल गर्छौ र समिक्षा गर्छौ । गठबन्धन भनेको देशमा गम्भिर राजनीतिक संकट पैदा हुने स्थितिलाई रोक्नको निम्ति एउटा विश्वासको प्रकटीकरण पनि हो । त्यसकारणले एकीकृत समाजवादीलाई गठबन्धनमै रहेर सिमा, समस्या र कमी छन् भनेदेखि सच्याउनको निम्ति अनुरोध गर्न चाहान्छौँ ।’

उहाँले गठबन्धनका कमी, कमजोरीहरुलाई सच्याएर अगाडी बढ्ने पनि बताउनुभयो । माओवादी केन्द्र पहिले भन्दा सुदृढ भएको उहाँले बताउनुभयो ।