प्रधानमन्त्री देउवाद्वारा बिम्सटेक सम्मेलनलाई भर्चुअल सम्बोधन

१६ चैत, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको प्रयास (बिम्सटेक) को सम्मेलनलाई भर्चुअल सम्बोधन गरेका छन् ।
प्रधानमन्त्री देउवाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट बिहान भर्चुअल रूपमा सम्मेलनलाई सम्बोधन गरेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
बिम्सटेक सम्मेलन श्रीलंकामा आजबाट सुरु भएको छ । परराष्ट्रमन्त्री नारायण खड्का यसअघि नै श्रीलंका पुगेका थिए । उनले मंगलबार मात्र भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका थिए ।
शिखर सम्मेलनअघि मंगलबार कोलम्बोमा बिमस्टेक विदेशमन्त्री स्तरीय बैठक बसेको थियो । बैठकमा परराष्ट्रमन्त्री डा नारायण खड्का सहभागी भएका थिए । उनले बैठकलाई सम्बोधन गरेका थिए ।
बिमस्टेक शिखर सम्मेलनको दिन आज कोलम्बोमा सदस्य राष्ट्रहरुबीच चारवटा सम्झौतापत्रमा हस्ताक्षर हुने कार्यक्रम रहेको छ ।
बिम्सटेकमा नेपालसहित भारत, श्रीलंका बंगलादेश, भुटान, म्यानमार र थाइल्यान्ड सदस्यको रुपमा छन् । सम्मेलनको अध्यक्षता श्रीलंकाले गर्नेछ । बिम्सटेकको पछिल्लो सम्मेलन सन २०१८ मा नेपालमा सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस्