म चुनावमा गठबन्धन गर्ने पक्षमा छैन- गगन थापा

१४ चैत,  काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले आफू गठबन्धनको पक्षमा नभएको बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय समितिको बैठकमा बोल्दै महामन्त्री थापाले आफु चुनावमा गठबन्धन गर्ने पक्षमा नभएको स्पष्ट गरेका हुन् ।

हामन्त्री थापाले बैठकमा भने- ‘म गठबन्धनको पक्षमा छैन । गठबन्धनलाई सैद्धान्तिक हिसाबले पुष्टि गर्न सकिँदैन । देशभरका लाखौँ मतदातालाई रुखबाहेक अन्यत्र भोट हाल्न भन्ने हो भने तिनले भविष्यमा रुखमै भोट हाल्छन् भन्ने के ग्यारेन्टी ?’ उनले अगाडी भने- ‘अहिले हँसिया हथौडा र कलममा भोट हालेको मतदाताले अर्को चुनावमा रुखमा भोट हाल्ला त ?’ 

शुक्रबारदेखि शुरु भएको काँग्रेसको यस केन्द्रीय समिती बैठकले स्थानीय चुनावमा गठबन्धन गर्ने या नगर्ने भन्ने निर्णय लिने बताइएको छ । आज पदाधिकारीले धारणा राख्ने क्रम सकिएसँगै बैठक सकिने र बैठकका निर्णय मंगलबार सार्वजनिक हुने बताइएको छ । साथै बैठकले आगामी चुनावका लागि संसदीय समिति गठन गर्नुका साथै केही भ्रातृ तथा शुभेच्छुक संस्थालाई मान्यता दिने निर्णय लिदै छ ।