जीवन-मरणको प्रश्न आएमा युक्रेनमा परमाणु हतियार प्रयोग गर्छौं- पुटिनका प्रवक्ता पेस्कोभ

९ चैत, काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले रुसले जीवन मरणको सवाल आएमा आणविक हतियार प्रयोग गर्ने चेतावनी दिएका छन् ।
सीएनएनसँगको अन्तर्वार्तामा पेस्कोभले युक्रेन विरुद्धको युद्धमा आणविक हतियारको सम्भावित प्रयोगलाई अस्वीकार गरेनन् ।
अन्तर्वार्ताका क्रममा यी हतियारहरूको प्रयोगसँग सम्बन्धित प्रश्नमा पेस्कोभले भने- ‘हामीसँग देशको सुरक्षाको बारेमा धारणा छ र यो सार्वजनिक छ । कुन परिस्थितिमा आणविक हतियारको प्रयोगको बारेमा कुरा गरिएको थियो तपाइँ हेर्न सक्नुहुन्छ । यदि हाम्रो देशको अगाडि जीवन र मृत्युको प्रश्न खडा भयो भने, हामी हाम्रो नीति अनुसार परमाणु हतियार प्रयोग गर्न सक्छौं ।’
यसअघि फेब्रुअरी २८ मा, युक्रेनमा भएको आक्रमणको केही दिनपछि, राष्ट्रपति पुटिनले आफूले रणनीतिक रूपमा महत्त्वपूर्ण हतियारहरू (आणविक हतियारसहित) विशेष सतर्कतामा राख्न आदेश दिएको बताएका थिए ।
तर, पेस्कोभको भनाइका विज्ञहरूले यसलाई देशको आणविक नीतिमा आएको परिवर्तनको रूपमा हेर्न नहुने बताएका छन् ।
विज्ञहरुले यो रुसको कुनै नयाँ कुरा नभएको बताउदै यो घोषित नीति नै भएको टिप्पणी गरेका छन् । रुसले आणविक हतियारको कुरा गरेर अमेरिकालाई डराउने गरेको बताउदै विज्ञहरुले रुसको आणविक हतियारको प्रयोगको नीति अहिले नबदलिएको दाबि गरेका छन् ।

प्रतिकृया दिनुहोस्