मान्छे–मान्छेका बिचमा हुने विभेदको अन्त्य हुनुपर्छ : उपराष्ट्रपति पुन

६ चैत, काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले मान्छे–मान्छेका बिचमा हुने विभेदको अन्त्य हुनुपर्ने बताउनुभएको छ ।

आइतबार काठमाडौंमा आयोजित स्वर्णिम युग फाउन्डेशनको शुभारम्भ तथा खेम शर्मा द्वारा लिखित पुस्तक ‘स्वर्णिम रहस्य’ विमोचन समारोहमा बोल्दै हुँदै उपराष्ट्रपति पुनले मान्छे–मान्छेका बिचमा असमानता र विभेद हुनुनहुने बताउनुभएको हो । समाजमा धनि र गरिबका बिचमा शिक्षा र स्वास्थ्यको क्षेत्रमा असमानता र विभेद रहेको भन्दै त्यसप्रकारको विभेदको अन्त्य हुनुपर्ने बताउनुभयो । उपराष्ट्रपति पुनले विभेदको अन्त्यका लागि थुप्रैखालका राजनीतिक संघर्षहरु भएपनि जनताले अपेक्षा गरे अनुसारको परिवर्तन हुन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो – ‘सबै मान्छेहरु समान हुनुपर्छ । मान्छे मान्छे बिचमा विभेद हुनुहुँदैन । असमानता हुनुहुँदैन ।

कसैको छोराछोरीले पढ्न पाउने, कसैको छोराछोरीहरुले पढ्न नपाउने, कोही व्यक्तिले चाहीँ लाखौँ करोडौँ खर्च गरेर उपचार गर्न पाउने, कोही व्यक्ति सिटामोल पनि नपाएर मर्नु पर्ने यो कस्तो असमानता ? यो खालको विभेद, यो खालको असमानता किन छ समाजमा ? त्यसकारण हामीले भन्ने गरेका छौँ समानता हुनुपर्दछ । विभेदको अन्त्य हुनुपर्दछ । त्यसकारण थुप्रै थुप्रै अभियान चल्ने गरेका छन् । यो राजनीतिक परिवर्तन असमानताको अन्त्यको लागि, यो विभेदहरुको अन्त्यको लागि पटक–पटक थुप्रै संघर्षहरु जनयुद्ध भयो, सशस्त्र संघर्षहरु भए, गणतन्त्र प्राप्त भयो । धर्मनिरपेक्षता, समानुपातिक, समावेशीताहरु आएको छ । र नयाँ संविधान बनेको छ । देशले केही काँचुली फेर्ने जमर्को गरेको छ । हामीले जति चाहेका छौँ त्यति पाउन सकिराखेका छैनौँ ।’

उपराष्ट्रपति पुनले देशले मलाई के दियो भनेर होइन देशलाई मैले के दिनसक्छु भनेर सोच्नुपर्ने बताउनुभयो । सकारात्मक सोचका साथ देशका लागि सकेको योगदान गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले भन्नुभयो – ‘देशले मलाई केही दिएन भन्नुभन्दा पनि मैले देशलाई के दिएँ ? के दिन सक्छु ? के गर्न सक्छु भन्ने सोचको विकास हुनु जरुरी छ जस्तो मलाई लाग्छ । त्यसकारण यही कुरालाई अलि बढी फोकस गरेर समाजमा सकारात्मक सोचको विकास होस् र सबैले सकारात्मक ढंगले सोचौँ । र केही न केही आफ्नो ठाउँबाट योगदान गरौँ भनेर अभियान थाल्ने अभियानकर्मीहरुलाई धेरै धेरै धन्यवाद दिन चाहान्छु ।’

उहाँले अनुशासित, नैतिकवान, पारदर्शि र अरुको हितको लागि सोच्ने व्यक्तिले मात्रै समाजका लागि राम्रो गर्नसक्ने बताउनुभयो ।