रुसी आक्रमणमा युक्रेनी चर्चित डान्सर ड्याटसिनको निधन

५ चैत, काठमाडौँ । युक्रेन र रुसबीच जारी युद्ध समाप्त हुने नाम लिइरहेको छैन । विगत केही दिनदेखि रुसले युक्रेनको विभिन्न भागमा बमबारी गरिरहेको छ जसका कारण धेरैले ज्यान गुमाएका छन् ।
यसै क्रममा अब युक्रेनका ब्याले डान्सर आर्ट्योम ड्याटसिनको निधन भएको छ । ड्याटसिनको बिहीबार निधन भएको थियो । उनी ४३ वर्षका थिए । विगतमा रुसी गोलीबारीमा घाइते भएका उनको उपचारको क्रममा निधन भएको हो ।
जानकारीका अनुसार करिब तीन साताअघि ड्याटसिन गोली लागेर घाइते भएका थिए । यसै क्रममा उनलाई गम्भीर चोट लागेको थियो । ड्याटसिनको शुक्रबार कीभमा दाहसंस्कार गरिएको छ । ड्याटसिन युक्रेनको राष्ट्रिय ओपेराका प्रमुख डान्सर थिए ।
ड्याटसिन भन्दा अघि युक्रेनी ६७ बर्षिय अभिनेत्री ओक्साना श्वेत्सको केही दिन अघि कीभमा रुसी आक्रमणका क्रममा मृत्यु भएको बताइएको थियो ।
रुस र युक्रेनबीच २४ फेब्रुअरी २०२२ मा युद्ध सुरु भएको थियो । रुसले युक्रेनमा ठूलो मात्रामा आक्रमण गर्न थालेको थियो र अहिलेसम्म दुईबीच युद्ध जारी छ । दुई देशबीचको यो युद्ध भएको तीन साता नाघेको छ ।
संयुक्त राष्ट्र मानव अधिकार परिषद्को कार्यालयका अनुसार युक्रेनमा द्वन्द्व सुरु भएदेखि हालसम्म करिब ६ सय सर्वसाधारणको मृत्यु भएको छ भने एक हजारभन्दा बढी घाइते भएका छन् । त्यस्तै संयुक्त राष्ट्रसंघका अनुसार अहिलेसम्म लगभग ३२ लाख युक्रेनीहरूले देश छोडेर छिमेकि देशहरुमा शरणार्थी भएका छन्।

प्रतिकृया दिनुहोस्