नेपाली राष्ट्रिय क्रिकेट टिमको व्यस्त खेल तालिका, चैत्रमै तीन सिरिज खेल्दै

२२ फागुन,  काठमाडौं । नेपालले विश्वकप लिग-२ अन्तर्गत चौथो त्रिकोणात्मक शृंखला खेल्नुअघि घरेलु मैदानमा पपुआ न्युगिनीसँग दुई खेलको एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिज खेल्ने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार नेपालले पीएनजीसँग चैत्र ११ र १२ (मार्च २५ र २६) गते एकदिवशीय अन्तर्राष्ट्रिय खेल खेल्ने छ । त्यस्तै नेपालले चैत्र १४ (मार्च २८)  देखि चैत्र २१ गते (अप्रिल ४) सम्म घरेलु मैदानमा पीएनजी र मलेसियासम्मिलित शृंखला खेल्ने भएको क्यानले जनाएको छ ।

हाल नेपालली टिम विश्वकप लिग-२ अन्तर्गत युएइमा हुने त्रिकोणात्मक सिरिज खेल्ने तयारीका लागि अभ्यास खेल खेल्न श्रीलंकामा रहेको छ ।

युएईमा नेपालले युएई र पपुवा न्युनिगीसँग  क्रिकेट विश्वकप लिग–२ त्रिकोणात्मक सिरिज आगामी चैतको पहिलो सातादेखि युएईमा खेल्दै छ । 

नेपाल र पपुवा न्युगिनीबीचको खेल आगामी चैत २ गते युएइको शारजहा क्रिकेट मैदानमा हुनेछ ।  त्यस्तै नेपालले आफनो दोस्रो खेल युएईसँग चैत ४ (मार्च १८) गते खेल्नेछ भने तेस्रो खेल युएईविरुद्ध चैत ७ गते खेल्नेछ । नेपालले पपुवा न्युगिनिसँग चैत ८ गते खेल्नेछ । 

आइसिसी विश्वकप लिग–२ को नेपालले ८ खेलमा ४ खेलमा विजयी भएको छ भने ४ खेलमा पराजित भएको छ । 

नेपाल ८ अंक जोड्दै अंक तालिकाको छैटौं स्थानमा छ । त्यसैगरी ओमानले २३ खेलमा १५ खेलमा जित तथा ७ खेलमा हार बेहोर्दै ३० अंक जोडेको छ । ओमन अंक तालिकाको शीर्ष स्थानमा छ । स्कटल्यान्ड १२ खेलमा ७ मा जित र ३ मा हारसहित १६ अङ्कका साथ दोस्रो स्थानमा छ । अमेरिका १६ खेलमा ७ मा जित र ९ मा हारसहित तेस्रो स्थानमा छ । 

युएई १० खेलमा ५ मा जित र ३ मा हारसहित १२ अंकका साथ चौथो स्थाानमा छ । नामिबिया ९ खेलमा १० अंकका साथ पाँचौं स्थानमा छ । पपुवा न्युगिनी १२ खेलमा १२ मानै हारका साथ अन्तिम स्थानमा छ । सन् २०२३ सम्म चल्ने विश्वकप लिग–२ का शीर्ष तीन टोलीले सोही वर्ष हुने एकदिवसीय विश्वकप छनोटमा स्थान बनाउनेछन् ।