रुस र युक्रेनबीच आजपनि वार्ता हुने

१८ फागुन, काठमाडौँ । रुस र युक्रेनबीच आज पनि शान्ति वार्ता हुने भएको छ ।
युक्रेनसँगको नयाँ चरणको वार्ताका लागि आफ्नो प्रतिनिधिमण्डल आज हुने वार्ताका लागि तयार रहेको रुसले जनाएको छ ।
क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले युक्रेनसँगको नयाँ चरणको वार्ताका लागि बुधबार रुसी प्रतिनिधिमण्डल वार्तास्थलमा रहने बताएका छन् । तर उनले वार्ताको स्थान वा ढाँचाको बारेमा थप विवरण भने दिएका छैनन् ।
उनले भने- ‘हाम्रो प्रतिनिधिमण्डल युक्रेनी वार्ताकारहरूको पर्खाइमा हुनेछ । हाम्रो प्रतिनिधिमण्डल आज राति वार्ता जारी राख्न तयार हुनेछ ।’
पेस्कोभले सम्भावित वार्ताको स्थान दिन भने अस्वीकार गरे । यस अघि सोमबार युक्रेनी र रुसी प्रतिनिधिमण्डलबीच बेलारुसमा वार्ता भएको थियो । बेलारुसको सीमामा भएको सो वार्तामा ठोस निष्कर्ष भने निस्किएको थिइएन ।
युक्रेनी राष्ट्रपतिका सल्लाहकारका अनुसार दुई पक्षले सम्भावित युद्धविरामको बारेमा छलफल गरेका थिए तर कुनै ठोस नतिजा निकाल्न सकेन ।
क्रेमलिनका प्रवक्ताले युक्रेनी प्रतिनिधिमण्डल वार्ताका लागि आउछ या आउदैन भन्ने स्पष्ट नभएको बताए । युक्रेनले पनि आजको वार्ताका लागि स्पष्ट जानकारी दिएको छैन । यसअघि युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले रुससँगको वार्तामा परिणाम आउने आशा नभएको भएपनि युक्रेन वार्तामा बस्ने बताएका थिए ।

प्रतिकृया दिनुहोस्