युक्रेनी सेनाको दाबि- अहिलेसम्म ५७ सय रुसी सैनिक मारिए

१७ फागुन,  काठमाडौँ । युक्रेनी सैन्य अधिकारीहरूले देशमा सुरुको पाँच दिनको तीव्र लडाइमा ५७ सय भन्दा बढी रुसी सैनिक मारिएको दाबि गरेका छन् ।

फेसबुकमा पोस्ट गरिएको एक भिडियो सन्देशमा, देशका जनरल स्टाफका प्रवक्ताले अहिलेसम्म ५७१० रुसी सेना मारिएको र युक्रेनी सेनाले २०० भन्दा बढी रुसी सैनिकहरूलाई बन्धक बनाएको जानकारी दिएका छन् ।

प्रवक्ताले अहिलेसम्म १९८ रुसी ट्याङ्क, २९ विमान, ८४६ बख्तरबन्द गाडी र २९ वटा हेलिकप्टर पनि ध्वस्त भएको दाबी गरेका छन् ।

युक्रेनी सरकारी पक्षको यी दाबि स्वतन्त्ररुपमा पुष्टि हुन नसकेपनि बेलायतको रक्षा मन्त्रालयले युक्रेनमा आक्रमण गर्दा मस्कोको सेनाले ठूलो क्षति बेहोरेको विश्वास गरेको बताएको छ ।

आइतवार, मस्कोका अधिकारीहरूले आफ्ना सेनाहरूले हताहत भएको स्वीकार गर्न बाध्य भएपनि संख्याको बारेमा भने रुसले अहिलेसम्म स्पष्ट गरेको छैन ।