मन्त्री यादवको अभिव्यक्ति अपराधिक मानसिकता हो : युवा संघ

९ माघ, काठमाडौं । राष्ट्रिय युवा संघ नेपाल बागमती प्रदेश कमिटीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवको अभिव्यक्तिलाई अपराधिक मानसिकताको संज्ञा दिएको छ ।

संयोजक महेश चौलागाईंले आइतबार कार्यकर्ताहरुलाई सम्बोधन गर्दै मन्त्री यादवको गत माघ ५ गते रौतहटको गौरमा दिएको अभिव्यक्ति विरुद्ध एकजुट हुन आग्रह गरेका हुन् । उनले यादवको अभिव्यक्ति क्षमा दिन योग्य नरहेको समेत स्पष्ट पारे ।

कानुनी राज्यको ध्वजी उडाउँदै मन्त्री जस्तो पदको दुरुपयोग गर्ने अपराधिक मानसिकता एवं अराजक प्रवृत्तिका विरुद्ध सम्पूर्ण देशभक्त न्यायप्रेमी नेपालीहरु एकजुट हुनुपर्ने उनको भनाई छ ।

यादवको अपराधिक मानसिकता, हत्या हिंसा भड्काउने अभिव्यक्ति कुनै पनि मानेमा क्षमा दिन योग्य नभएको संघको ठहर रहेको छ । यादवलाई तत्काल मन्त्री पदबाट खारेजगरी गिरफ्तार गरी आवस्यक कार्वाही गर्न समेत नेपाल सरकारसँग संघले माग गरेको छ ।