६ महिनामा नै मुलुक गहिरो संकटतर्फ

९ माघ, काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा (एमाले) ले शेरबहादुर देउवा नेतृत्वको सरकारले ६ महिनामा नै मुलुकलाई गहिरो संकटतर्फ धकेलेको आरोप लगाएको छ । पाँच दलीय गठबन्धनको नेतृत्व सरकारको ६ महिने कार्यकालका बारेमा टिप्पणी गर्दै एमालेले मुलुकको अर्थतन्त्र धरासयी बनाएको पनि आरोप लगाएको छ ।


‘सर्वोच्च अदालतको परमादेशबाट गठित गठबन्धन सरकारको ६ महिने कार्यकालमा मुलुक गहिरो सङ्कटतिर धकेलिँदै गएको छ,’ एमाले अध्यक्ष केपी ओलीले आइतबार जारी गरेको १५ बुँदे वक्तब्यमा भनिएको छ, ‘शक्ति पृथकीकरण र राज्यका अङ्गहरुबीचको सन्तुलन, मुलुकको अर्थतन्त्र, हाम्रो बाह्य सम्बन्ध र शान्ति–सुरक्षाको अवस्थालगायत प्रमुख पक्षहरु गम्भीर रुपले समस्याग्रस्त बनेका छन् ।’ एमालेका अनुसार कोभिड महामारीविरुद्धको प्रतिकार्य लथालिङ्ग अवस्थामा छ ।