महामारीमा सञ्चालित निजी विद्यालयलाई कारबाहीको चेतावनी

७ माघ, काठमाडौं ।  काठमाण्डाै महानगरपालिकाले काेराेना महामारी तीव्ररूपमा बढिरहेका बेला केही निजी विद्यालय सञ्चालन भइरहेको भन्दै कारबाही गर्ने चेतावनी दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्णयविपरीत महानगरपालिकाका केही निजी विद्यालय सञ्चालन भइरहेका छन् ।

कोरोना भाइरसको तेस्रो लहर तीव्ररूपमा बढिरहेको भन्दै सरकारले गएकाे पुस २७ गतेदेखि सबै विद्यालय भौतिक उपस्थितिमा सञ्चालन नगरि वैकल्पिक माध्यमबाट सञ्चालन गर्न निर्देशन दिएको थियो ।

सरकारले दिएको निर्देशनको बेवास्ता गरी महानगरपालिकाका वडा नं १५ र १८ का  केही निजी विद्यालय सञ्चालन भइरहेका बताइएको छ । कामपा–१५ मा सञ्चालित फ्युचरस्टार बोर्डिङ स्कुलले बिहान र दिउँसो दुई समूहमा पठनपाठन गरिरहेको छ । त्यस्तै कामपाकै घना बस्ती रहेका अन्य केही वडामा पनि विद्यालय सञ्चालन भइरहेका जनाइएको छ ।

यस सन्दर्भमा महानगरपालिकाका शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले सरकारले सार्वजनिक गरेको निर्देशन विपरीत सञ्चालन भएका विद्यालय तत्काल बन्द नगरे कारबाही गर्ने चेतावनी दिनुभएको छ । सुवेदीले भन्नुभयो, ‘महामारी नियन्त्रणका लागि सबैले साथ र सहयोग गर्नुपर्ने समयमा निर्देशन विपरीत शुल्क लिने बहानामा विद्यालय सञ्चालन गर्नु दण्डनीय छ ।’