नेपालले पठाएको सहायता सामग्री संयुक्त राष्ट्रसंघलाई हस्तान्तरण

२ माघ, काठमाडौं । नेपाल सरकारले अफगानिस्तानी जनताका लागि पठाएको सहायता सामग्री संयुक्त राष्ट्रसंघलाई काबुलमा हस्तान्तरण गरिएको छ। 

परराष्ट्र मन्त्रालयकी सहसचिव सेवा लम्सालको नेतृत्वमा टोलीले आइतबार बिहान अफगानी जनतालाई आवश्यक औषधी, घरायसी सामग्रीहरु र लत्ता कपडा काबुलस्थित राष्ट्रसंघको मिसनलाई हस्तान्तरण गरेको हो।

हिमालय एयरलाइन्सको जहाजमार्फत् औषधि, लत्ताकपडा र घरायसी सामग्री गरी करिब १४ टन सामग्री अफगानिस्तान पठाइएको थियो।

जहाज  करिब साढे ३ घन्टामा काबुलस्थित विमानस्थलमा पुगेको थियो।

जहाज बाबुल उड्नुअघि परराष्ट्र मन्त्री नारायण खड्काले अफगानिस्तानमा मानवीय संकट उत्पन्न भएकोले नेपालले सहयोग गरेको बताएका थिए।

परराष्ट्र मन्त्री खड्काका अनुसार अफगानिस्तानका करिब २ करोड ७० लाख मानिस मानवीय सहयोगको पर्खाइमा छन्।