युरोकपको गोल्डेन बुटमा रोनाल्डोनै अगाडी, अन्य को को छन् दौडमा ?

२० असार, काठमाडौँ । युरोकपमा गोल्डेन बुटको दौडमा क्रिस्टियानो रोनाल्डोसँग चेक रिपब्लिकका पाट्रीक शिक पनि जोडिएका छन् ।

शिकले गएराती क्वाटरफाइनल खेलमा डेनमार्कविरुद्ध गोल गर्दै आफ्नो गोल संख्या ५ पुर्याउदै रोनाल्डोको बराबरी गरेका हुन् ।  

५ गोल गरेका रोनाल्डो नेतृत्वको पोर्चुगल भने युरोकपबाट यसअघि नै बाहिरिएको छ भने चेक रिपब्लिक पनि डेनमार्कसँग २-१ गोल अन्तरले पराजित हुदै बाहिरिएको छ । 

गोल बराबरी गरेपनि रोनाल्डोले गोल असिस्ट पनि गरेको हुनाले अहिलेसम्म रोनाल्डोले नै गोल्डेन बुट जित्ने छन् ।


गोल बराबर भएमा युइएफएले ५ आधारमा गोल्डेन बुट दिने नियम बनाएको छ:

१) प्रतियोगितामा धेरै गोल असिस्ट गरेको आधारमा, 
२) कम मिनेट खेलेको आधारमा,
३) छनौट र प्लेअफ खेलहरुमा गरेको गोल संख्याको आधारमा,
४) कम पहेलो र रेडकार्ड पाएको आधारमा,
५) छनौट चरणमा कम पहेलो र रेड कार्ड पाएको आधारमा ।    


त्यस्तै ४-४ गोल गरेका फ्रान्सका करिम बेन्जमा, बेल्जियमका रोमेलु लुकाकु र स्विडेनका एमिल फोर्सबर्गको गोल्डेन बुट जित्ने सम्भावना सकिएको छ । बेल्जियम, फ्रान्स र स्विडेन युरोकपबाट यसअघि नै बाहिरिएका छन् ।

त्यस्तै यस ३-३ गोल गरेर डेनमार्कका कास्पर डोलबेर्ग तथा  इङल्याण्डका ह्यारी केन र रहिम स्टरलिङ गोल्डेन बुटको दौडमा रहेका छन् । तिनै जना अब सेमिफाइनलमा खेल्ने छन् ।   

त्यस्तै ३-३ गोल गरेका नेदरल्याण्डका जर्जिनियो विजनाल्डम, पोल्याण्डका रोबेर्ट लेवानडोस्की तथा स्वीट्जरल्याण्डका हारिस सेफेरोभिक र जेर्डन शाकिरीको गोल्डेन बुट जित्ने सम्भावना सकिएको छ ।      

२-२ गोल गरेर रहेका ११ खेलाडी गोल्डेन बुटको दौडमा रहेका छन् ।  जसमा डेनमार्कका जोअकिम माह्ल र युसुफ पोउलसेन, इटालीका किरो इम्मोबिल, म्यानुएल लोकाटेली र माटेओ पेसिना, स्पेनका अल्भारो मोराटा, पाब्लो सर्बिया, फेरान टोरेज, स्वीट्जरल्याण्डका जेर्डन शाकिरी, युक्रेनका रोमन यारेमचुक र एन्ड्रीयार्मोलेनको रहेका छन् ।

युरोकपमा अहिलेसम्म सम्पन्न ४८ खेलमा कुल १३५ गोल भएका छन् जसमा ९ गोल आत्मघाती गोल भएका छन् । जसअनुसार प्रति खेल औसतमा २.८१ गोल भएका छन् ।

त्यस्तै युरोकपको इतिहासमा अहिलेसम्म सर्बाधिक १४ गोल गर्दै रोनाल्डो सबैभन्दा अगाडी रहेका छन् ।