अभिनेता आमिर खान र पत्नी किरणबीच डिभोर्स

२० असार,  काठमाडौँ । बलिवुड अभिनेता आमिर खान र उनकी पत्नी किरण राव वैवाहिक जीवनबाट अलग भएका छन् ।

आमिर र किरण दुवैले संयुक्त विज्ञप्ति जारी गर्दै आफुहरुले १५ सालको वैवाहिक जीवन टुंगाएको घोषणा गरेका हुन् ।

५६ बर्षिय अभिनेता आमिरको यो दोस्रो विअः थियो । २००५ को डिसेम्बर २८ मा आफूभन्दा ९ बर्ष कम उमेरकी किरणसँग आमिरले विअः गरेका थिए । उनीहरुको पहिलो भेट फिल्म लगानको सेटमा भएको थियो । सो फिल्ममा किरण असिस्टेन्ट निर्देशक थिइन् ।

दुवैले जारी गरेको विज्ञप्तिमा भनेका छन्- १५ बर्ष हामीले खुशीसाथ आफ्नो जीवन बितायौं । अब हामी जिन्दगीको नयाँ अध्याय शुरु गर्न चाहन्छौं । जुन पति पत्नीको रुपमा होइन तर प्यारेन्ट र एकअर्कोको परिवारको रुपमा हुने छ ।’

विज्ञप्तिमा भनिएको छ- हामीले केहि समयअघि नै अलग हुने योजना बनाएका थियौं र अब हामी अलग हुन सहज भएका छौं । हामी छोरा आजादको अभिभावक बनिरहने छौं र उनको हेरचाह सँगै गर्ने छौं ।’

आमिर र किरणका छोरा आजाद अहिले १० बर्षका छन् । उनको जन्म २०११ मा सेरोगेसीको माध्यमबाट भएको थियो ।

आमिर खानको यस अघि रीना दत्तासँग विवाह भएको थियो । सन १९८६ अप्रिल १८ मा भएको विवाह १६ बर्षपछि २००२ मा अन्त्य भएको थियो । आमिर र रीनाबाट एक छोरा जुनैद र छोरी आइरा छन् ।