चार जना सहसचिवलाई सचिवमा बढुवा गर्ने सरकारको निर्णय

The Office of the Prime Minister and Council of Ministers in Singha Durbar as captured on Friday, October 14, 2016. Photo: RSS

१८ असार,  काठमाडौं । सरकारले चार जना सहसचिवलाई सचिवमा बढुवा गरेको छ ।

मन्त्रिपरिषदको बिहीबार साँझ बसेको बैठकले डा. दामोदर रेग्मी, गणेशप्रसाद पाण्डे, डा. कृष्णप्रसाद आचार्य र प्रमिला बज्राचार्य सचिवमा बढुवा गरेको हो ।

डा. रेग्मी र पाण्डे प्रशासनतर्फ सचिव बनेका छन् भने डा. आचार्य र बज्राचार्य प्राविधिकतर्फबाट सचिव बनेका छन् ।

सचिव बढुवा सिफारिस समितिले प्रशासनतर्फबाट बढुवा गर्न पाण्डेसँगै मधुसुदन बुर्लाकोटी र कृष्णहरि पुष्करलाई पनि सिफारिस गरेको थियो । त्यस्तै सिफारिस समितिले कृषि तथा वनसेवातर्फ रिक्त रहेको एक सचिव पदका लागि वरिष्ठ सहसचिव डा. कृष्णप्रसाद आचार्यसहित निरु दाहाल पाण्डे र दीपक खरालको नाम पनि सिफारिस गरेको थियो ।

त्यस्तैगरी समितिले इन्जिनियरिङ सेवातर्फ बज्राचार्यसँगै सहसचिवद्वय सुशीलचन्द्र तिवारी र गोविन्द सिग्देललाई सिफारिस गरेको थियो ।

लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा रहेको सचिव बढुवा सिफारिस समितिले रिक्त सचिव पदका लागि नाम सिफारिस गरेको थियो ।