राजनितिक र सांगठनिक मुद्धाको सम्बोधन बिना बैठकमा सहभागी हुदैनौं – रामकुमारी झाँक्री

१८ असार,  काठमाडौं । नेकपा एमाले नेतृ रामकुमारी झाँक्रीले आज बोलाइएको पार्टीको केन्द्रीय कमिटीको बैठकलाई गुटको बैठकको संज्ञा दिएकी छन् ।

बिहीबार राति सामाजिक सञ्जालमार्फत नेतृ झाँक्रीले केपी शर्मा ओली पक्षले बोलाएको केन्द्रीय कमिटी बैठकलाई ‘गुटको बैठक’भन्दै आफुहरु सहभागी नहुने बताएकी छन् ।

उनले भनेकी छन्-

‘भ्रममा नपरौ ! असार १८ गते नेकपा एमालेको नाममा आयोजना गर्ने भनिएको बैठक गुटको बैठक हो। हामीले उठाएका राजनितिक र सांगठनिक मुद्धाको सम्बोधन बिना  बैठकमा सहभागी हुने कुरै आउँदैन । हाम्रो स्थायी कमिटीको  बैठकले उक्त बैठकमा नजाने निर्णय गरेको छ । पार्टी एकताको नाममा छरेको भ्रमको पर्दा पनि उतारिएको छ । हिजो ओली गुटको बैठकले २०७७ फागुन २८ को निर्णयको नाम मात्र फेरेको हो ।’

एमालेले दशौँ महाधिवेशन आयोजक कमिटीलाई बुधबार केन्द्रीय कमिटीमा रूपान्तरण गरेको थियो । सोही बैठक शुक्रबारका लागि बोलाइएको र सो बैठकमा नेपाल पक्षलाई पनि निम्तो गरिएको संस्थापन पक्षले जानकारी छ । 

तर, नेपाल पक्षको बिहीबार बसको स्थायी कमिटी बैठकले राजनीतिक विषयहरुमा सहमति नभएसम्म बैठकमा नजाने निर्णय गरेको छ ।

विहिबार मात्र ओली र नेपाल पक्षका दोस्रो तहका नेताहरुको बैठकले आजको बैठक स्थगित गर्ने विषयमा छलफल गरेको बुझिएको छ ।