ओली-नेपालबीच टेलिफोनमा कुराकानी, आज भेटवार्ता हुनसक्ने !
१८ असार, काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच टेलिफोनवार्ता भएको छ ।
दुवै नेताबीच विहिबार बेलुका टेलिफोन कुराकानी बह्येको एमाले नेताहरुले बताएका छन् । केन्द्रीय कमिटी बैठकको पूर्वसन्ध्यामा दुवै नेताबीच भएको कुराकानीलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
ओली निकट एक नेताले खरीबोटलाई अध्यक्ष ओली र नेता नेपालबीच आज भेटवार्ता हुनसक्ने बताएका छन् ।
नेकपा एमालेले आज बिहान ११ बजे केन्द्रीय कमिटी बैठक बोलाएको छ भने नेपाल पक्षले राजनीतिक र सैद्धान्तिक विषयमा सहमति नभई बैठकमा सहभागी नहुने निर्णय गरेको छ ।
विहिबार काठमाडौँको बुद्धनगरस्थित एक पार्टी प्यालेसमा बसेको स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने निर्णय गरेको हो ।
यस्तै विहिबार नै ओली र नेपाल पक्षका दोस्रो तहका नेताहरुबीच पनि छलफल भएको थियो । सो छलफलमा नेपाल पक्षका नेताहरुले केन्द्रीय कमिटीको शुक्रबारको बैठक सारेर सहमति खोज्न प्रस्ताव गरेका थिए ।
यस अघि बुधवार बालुवाटारमा बसेको दशौं राष्ट्रिय महाधिवेशन कमिटीको बैठकले आयोजक कमिटी भंग गर्दै पूर्ववत केन्द्रीय कमिटीलाई क्रियाशील बनाएको थियो ।
एमालेका अध्यक्ष केपीशर्मा ओली पक्षले भने कमिटी जेठ २ मा फर्किएको दाबी गर्दै आएको छ भने नेपाल पक्षले एक पक्षीय रुपमा बैठक बोलाइएको, राजनीतिक र सैद्धान्तिक सहमति नभएको, स्थायी कमिटीमा ८ सदस्य थप्ने निर्णय विधिसम्मत नभएको जस्ता विषय उठान गरेको छ ।

प्रतिकृया दिनुहोस्