बार्सिलोनामा मेसीको सम्झौता सकियो
१७ असार, काठमाडौँ । लियोनेल मेसीको बार्सिलोनासँगको सम्झौता सकिएको छ । जुन महिनासम्म रहेको सम्झौता सकिएपछि अब मेसी कुनै पनि क्लबमा नि:शुल्क रुपमा (फ्री-ट्रान्सफर) मा जानसक्ने भएका छन् ।
विश्वकै उत्कृष्ट फुटबलर मेसीसँग बार्सिलोनाले समयमा नै सम्झौता नवीकरण गर्न नसकेपछि अब मेसीको बार्सिलोनामा भविष्य के हुन्छ भन्ने कौतुहलता बढेको छ ।
मेसीको बार्सिलोनाको २१ बर्षको सम्बन्ध के हुने भन्ने विषयमा फुटबल प्रेमीबीच चासोको विषय बनेको छ । हाल कोपा अमेरिका खेलिरहेका मेसी अहिले राष्ट्रिय टिमको प्रदर्शनमै केन्द्रित रहेको मिडिया रिपोर्टमा बताइएको छ ।
मिडिया रिपोर्टका अनुसार सम्झौताको अवधि सकिएपनि बार्सिलोनाको व्यवस्थापन भने अझै पनि मेसी क्लबमै रहनेमा विश्वस्त रहेको छ । मेसीको सम्झौता नवीकरण गर्ने मुख्य मुद्धा अगाडी सारेर बार्सिलोनाको अध्यक्ष बनेका जोन लापोर्टालाई पनि सम्झौताको मिति सकिदै गर्दा सम्झौता नवीकरण हुन नसक्नुलाई उनको असफलताको रुपमा हेरिएको छ ।
मेसी जुलाई १ देखि फ्री-ट्रान्सफरका लागि स्वतन्त्र भएपछि बार्सिलोनाका केहि अप्ठ्यारोमा भने परेको देखिएको छ । अब बार्सिलोनाले मेसीसँग सम्झौता गर्दा त्यो नयाँ सम्झौता हुने छ भने ला लिगामा पनि उनको नाम पुन: दर्ता गर्नु पर्ने छ । साथै नयाँ सम्झौता गर्दा ला लिगाको फाइनान्सियल रेगुलेसनको फ्रेमवर्क भित्र मेसीसँग सम्झौता गर्नुपर्ने बाध्यात्मक अवस्था उत्पन्न भएको छ । ला लिगाका प्रेसिडेन्ट जाभियर टेबासले बार्सिलोनालाई खेलाडीको पारिश्रमिक घटाउन यसअघि नै चेतावनी दिएका छन् । उनले अन्यथा खेलाडीको दर्ता प्रक्रिया नै रोकिदिने चेतावनी दिएका छन् ।
कोरोना महामारीका कारण बार्सिलोना आर्थिक रुपमा पनि संकटमा रहेको बेला आफ्ना अहिलेसम्मका उत्कृष्ट खेलाडी नै फ्री-ट्रान्सफरमा क्लब छोडेमा क्लबलाई ठुलो नोक्सानी बेहोर्नु पर्ने र मेसीले त्यसो नगर्नेमा क्लब विश्वस्त रहेको स्पेनिस मिडियाहरुले उल्लेख गरेका छन् । बार्सिलोनाको अहिले एक बिलियन युरोभन्दा बढी ऋण रहेको बताइएको छ ।
गत साता मात्र आफ्नो ३४औ जन्मदिन मनाएका मेसी बार्सिलोनाका लागि अहिलेसम्मका उच्च गोल कर्ता हुन् । आफ्नो पुरै क्यारियरनै बार्सिलोनामा बिताएका मेसीले गत बर्ष क्लबको व्यवस्थापनसँग विवाद भएपछि क्लब छोड्ने घोषणा गरेका थिए । तर क्लबले सम्झौता अनुसार मेसीले क्लब छोड्न नसक्ने बताएपछि उनी क्लबमै रहेका थिए ।
आर्थिक संकटमा रहेको बार्सिलोनाले मेसीसँग सम्झौता गर्न केहि खेलाडीलाई बेच्ने तयारी समेत गरेको बताइएको छ । जसमा फेन्च खेलाडी एन्टोनी ग्रीजम्यानसमेत रहेको उल्लेख छ । बार्सिलोनाले आफ्नो टिमलाई नयाँपन दिन फ्री-ट्रान्सफरबाट मेम्फिस डिपे, सर्जियो अग्युरो र एरिक ग्रासिया जस्ता खेलाडीलाई भित्र्याईसकेको छ । क्लबको आर्थिक अवस्थामा सुधार ल्याउन पुराना केहि हाइप्रोफाइल खेलाडीलाई बेच्ने तयारी स्वरूप क्लबले नयाँ खेलाडी फ्री-ट्रान्सफरबाट भित्र्याएको विश्लेषण स्पेनिस मिडियाले गरेका छन् ।

प्रतिकृया दिनुहोस्