काँग्रेसका तीन ‘राजकुमार’ को तेस्रो लञ्च मिटिङ !

१५ असार,  काठमाडौं । नेपाली काँग्रेसको महाधिवेशनको मिति नजिकिँदै गर्दा दोस्रो तहका तीन प्रभावशाली नेताहरु लगातार छलफलमा जुटेका छन् ।

मंगलबार उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र प्रकाशमान सिंहले ‘लञ्च मिटिङ’ गरेका छन् ।

सिंह निवासमा भएको यो छलफल यी नेताहरुको तेस्रो छलफल हो । यसअघि तिनै नेताहरु पहिला निधि निवास र त्यसपछि डा. कोइराला निवासमा भेटवार्ता गरिसकेका छन् ।

काँग्रेसमा राजकुमारका नामले पनि चर्चित यी नेताहरुले सभापति शेरबहादुर देउवाको विकल्पमा काँग्रेसमा नयाँ धारको निर्माण गर्ने तयारी गरेको बुझिएको छ ।

काँग्रेसमा तिनै जना सभापतिका आकांक्षी नेताहरुको लगातारको भेटवार्तालाई काँग्रेस वृतमा अर्थपूर्ण रुपमा हेरिएको छ । खासगरी लामो समय देउवा निकट रहेर काम गरेका उपसभापति निधिको उपस्थितिलाई धेरै आशंका र काँग्रेस भित्र नयाँ गुट निर्माणको पहलको रुपमा हेरिएको छ ।