गाली-गलौजमा किन उत्रिए प्रधानमन्त्री ओली ?

१५ असार,  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सोमबार आफ्ना विरोधी नेताहरुविरुद्ध शब्दको प्रहार गरेको विषय अहिले चर्चामा रहेको छ । 

मदन भण्डारीको ७०औं जन्मजयन्तीको अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले प्रतिपक्षी नेपाली काँग्रेस, काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमालेकै नेता माधवकुमार नेपालविरुद्ध आक्रामक मात्र भएनन्, कैयौं अमर्यादित शब्दहरुको प्रयोग पनि गरे । 

ओलीले शान्तिपूर्ण राजनीति गर्ने काँग्रेसलाई नाथुराम गोड्सेको खोजीमा लागेको भन्दै आलोचना गरे । भने काँग्रेसले ‘कू’ को परिभाषा विर्सेर प्रचण्डमा लागेको आरोप लगाए ।

प्रधानमन्त्री ओलीले काँग्रेस सभापति देउवाले प्रधानमन्त्री बन्ने लोभमा लोकतान्त्रिक बाटो बिर्सेको मात्र बताएनन् । प्रचण्डको इशारामा चलेको र प्रचण्डको भाषा बोलेको आरोप लगाए ।

त्यस्तै उनले प्रचण्डलाई ‘छेपारे’ भएको टिप्पणी गरे । ओलीले प्रचण्डलाई छेपारोले जस्तो रंग फेर्ने नेता भएको बताउदै देशलाई बर्बाद बनाउन लागिपरेको बताए । उनले प्रचण्डले देउवालाई अगाडी सारेर आफ्नो उदेश्य पुरा गर्न लागेको बताए ।

प्रधानमन्त्री ओली माधव नेपालमाथि भने निकै आक्रामक रुपमा प्रस्तुत भएका थिए । नेता नेपाललाई लाज सरम पचेको मान्छे मात्र भनेन् विश्वमै अराजक र इमान नभएको नेताको संज्ञा दिए ।

उनले नेपाललाई प्रधानमन्त्री प्रस्ताव गर्न आफुलाई बहुला कुकुरले नटोकेको बताए । त्यस्तै उनले सभामुख अग्नि सापकोटालाई प्रचण्डको कार्यकर्ता बनेको टिप्पणी गर्दै सभामुखले संसद भवनको दुरुपयोग गरेको आरोप लगाए ।

सोमबार प्रधानमन्त्री ओलीले आफ्ना विरोधीलाई गरेको आक्रमण हतास मनस्थितिको उपज भएको विश्लेषण गरिएको छ । सामान्यतया ओलीको राजनीति तरिका आफु दबाबमा आएपछि विरोधीहरुलाई कडा कडा शब्दको प्रयोग गरेर प्रहार गर्ने पुरानो बानी भएको र सोमबारका अभिव्यक्ति पनि त्यसैको उपज भएको बुझ्न सकिन्छ ।

पछिल्लो समय नागरिकता अध्यादेश खारेज हुनु, आफूविरुद्ध आफ्नै नेताहरुसहित विपक्षी दलहरु संगठित हुनु, अदालतले ढुंगा-बालुवाको बजेटमा गरेको प्रावधान रोकी दिनु, रणनीतिक रुपमा जसपाका नेताहरुलाई मन्त्री बनाएकोमा सर्वोच्चले त्यसलाई खारेज गरिदिनु जस्ता घटनाक्रमले अत्याधिक दबाब महसुस गरेका प्रधानमन्त्रीले सोमबार एकमुष्ठ सबैलाई एक पछि अर्को आक्रमण गरेका हुन् । अमर्यादित भाषाको प्रयोग गर्दै ओलीले शब्दको खेल खेलेर आफुविरोधीमाथि हावी हुन खोजेको देखिन्छ । प्रधानमन्त्री ओलीले सोमबारको कायर्क्रममा कथम कदाचित विपक्षी गठबन्धन सरकारमा आएमा चुनाव नहुने दाबि गर्दै सर्वोच्चले सनस पुन:स्थापना गर्न सक्ने तर्फ संकेत समेत गरे । 

सोमबार ओलीले विभिन्न नेताहरुमाथि गरेको टिप्पणी र नेताहरुले ओलीलाई दिएको जवाफको सम्पादित अंश :

नेपालमाथि ओलीको टिप्पणी :-

प्रधानमन्त्री ओलीले दुनियाँको लोकतान्त्रिक हिस्ट्रीमा कुनै पनि राजनीतिक मुभमेन्टमा माधव नेपाल जति अराजक, अनुशासनहिन र इमान नभएको मान्छे टिप्पणी गरे । प्रधानमन्त्री ओलीले नेपालले यस बीचमा राजीनामा गर्नुपर्थ्यो भन्दै एमालेलाई ध्वस्त बनाएर काँग्रेसको नेतृत्वमा सरकार बनाउन हिडेको आरोप लगाए ।

उनले भने- ‘ नेकपा एमालेको वरिष्ठ नेता हुँ भन्ने, एमाले ध्वस्त पार्ने, काँग्रेसको नेतृत्वमा सरकार बनाउने, कम्युनिष्ट आन्दोलनको रक्षाको लागि भन्ने, लोकतन्त्र बचाउन भन्ने, यो भन्दा अराजकताको नमुना अरु के हुन्छ ? दुनियाँको लोकतान्त्रिक हिस्ट्रीमा कुनै पनि राजनीतिक मुभमेन्टमा माधव नेपाल जति अराजक, अनुशासन हिन र इमान नभएको मान्छे, जुन चिन्हमा भोट लियो, जुन पार्टीमा भोट लियो, जुन आदर्शका लागि ढाटेर भोट हिजो संसदमा आयो, जुन कार्यकर्तालाई ढाँटेर नेता बन्यो,  यो बीचमै राजीनामा दिनु पर्दैन ? मैले अब नयाँ राजनीति शुरु गररे नयाँ विचार शुरु गरेर भनेर ।’

सभामुखमाथि ओलीको टिप्पणी: 

प्रधानमन्त्री ओलीले भने- ‘संसद भवनलाई संसदीय क्रियाकलाप बाहेक अरु कुरालाई प्रयोग गर्न दिईदैन । तर तथाकथित बुद्धिजीवी भेला, तथाकथित पत्रकार सम्मेलन, तथा कथित नागरिक समाजका अन्तरक्रिया, के संसदले भाडामा लिएको अन्तर्राष्ट्रिय भवन यस खालका बकबासी कामका लागि हो ?’

प्रधानमन्त्री ओलीले सभामुखलाई प्रचण्डको कार्यकर्ता भन्दै अब संसदले भाडामा लिएको विरेन्द्र अन्तर्राष्ट्रिय भवन अरुले भाडामा किन नपाउने भन्दै प्रश्न गरेका छन् । उनले भने- ‘प्रचण्डका कार्यकर्ता सभामुख हुने बित्तिकै प्रचण्डले जे भन्यो अर्थात कानुन भन्दा माथि हुने ?’   
काँग्रेस र देउवामाथि ओलीको टिप्पणी

प्रधानमन्त्री ओलीले नेपाली काँग्रेसले ‘कू’ भनेको के हो बिर्सेको टिप्पणी गरेका छन् । प्रधानमन्त्री ओलीले काँग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री बन्ने लोभमा लोकतान्त्रिक बाटो छोडेको आरोप लगाएका छन् ।

अहिले काँग्रेसले जनताका बिचमा जाने कुरालाई कू भनेको भन्दै प्रधानमन्त्री ओलीले २०१७ सालको घटना के थियो भन्दै काँग्रेसले कू बिर्सेको आरोप लगाएका छन् ।

प्रधानमन्त्री ओलीले भने – ‘जनतामा जाने कुरालाई उहाँहरुले कू भन्नुभयो । २०१७ सालको घटना के थियो ? काँग्रेसले कू भनेको बिर्सेछ, म शेरबहादुर देउवालाई सोध्न चाहन्छु माघ १९ के थियो । त्यतिबेला कु भन्ने शब्द उहाँको मुखबाट निकाल्ले हिम्मत त गर्नु भएन ।’ 
प्रधानमन्त्री ओलीले देउवालाई राजा ज्ञानेन्द्रले हटाएको घटना के थियो भन्ने प्रश्न गर्दै अहिले जनताका बिचमा जाने संबैधानिक कुरा गर्दा कू भनेको, प्रतिगमन भनेको टिप्पणी गरे ।   

ओलीलाई देउवाको जवाफ :-

काँग्रेस सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिमाथि छुद्र भाषा बोल्ने मान्छेले देश चलाउन नसक्ने बताएका छन् ।

प्रधानमन्त्री ओलीले सोमबार देउवामाथि लोकतान्त्रिक मुल्य मान्यता छोडेर प्रचण्डपथमा हिँडेको आरोप लगाएपछि त्यसको जवाफ दिदै देउवाले भने- ‘रेस्पेक्ट गर्न सक्ने व्यक्तिले देश बनाउँछ । छुद्र भाषामा बोलेर केही हुँदैन । छुद्र भाषा बोल्ने मान्छेले के देश चलाउँछ ?’

माधव नेपालको ओलीलाई जवाफ:-

एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्ति रेकर्ड गरेर राख्न आग्रह गरेका छन् । नेपालले भने, ‘हामी आफैं संस्कृति र संस्कारको कुरा गर्छौं अरुको मान सम्मानको कुरा गर्छौं, तर त्यसभन्दा फरक व्यवहार गर्छौं ।

यसमा नम्बर वान को छ भने सम्माननीय प्रधानमन्त्री हुनुहुन्छ । उहाँको हिजोआजको अभिव्यक्ति रेकर्ड गरेर राख्नुहोला । कति राम्रा-राम्रा कुरा छन्, हिजोको पनि आजको पनि । ध्यान दिन लायक छ, मननीय छ । सबैले सिक्नै पर्छ । सकारात्मक वा नकारात्मक रुपले सिकौं । किनभने बानी र पानी माथिबाट तल सर्छ ।’

उनले अगाडी भने- ‘मलाई बहुला कुकुरले टोकेको छ र भन्नुभएको छ । विगतको सन्दर्भ पनि अघि सार्नुभएको छ । नामै काढेर पनि भन्नुभएको छ । म धेरै कुरा भन्न चाहन्न । हामी त जनताको अदालतमा उभिन तयार छौं ।’

ओलीलाई प्रचण्डको जवाफ:-

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली अब ओरालो लागेको टिप्पणी गरेका छन् ।  सोमबार विपक्षी गठवन्धनद्वारा आयोजित अन्तरक्रियामा बोल्दै प्रचण्डले ओलीजीलाई सम्झिँदा माया पनि लागेको बताउदै उनी तुच्छस्तरको निरंकुश भएको बताएका छन् ।  

उनले भने- ‘केपीजी अब सिद्धिनुभयो र नेपालको इतिहासमा सबैभन्दा कलंकित र बदनाम प्रधानमन्त्रीको रुपमा, सबैभन्दा निरंकुशको पनि तुच्छस्तरको निरंकुश, झुठ, बेइमानबाहेक केहि नजान्ने निरंकुशको रुपमा नेपाली इतिहासमा बदनाम भएर जाने हुनुभयो । विचरा केपी ओलीजीलाई सम्झिँदा माया पनि लाग्छ । कठै बिचरा ! १४ वर्ष जेल पनि बसेको हो । तर दृष्टिकोण र प्रवृत्ति कुरा हो । उहाँ ओरालो लागेकै मैले बुझ्छु ।’

उनले अगाडी भने, ‘अझै पनि उहाँले षडयन्त्रका गोटी चाल्न सक्ने र जुनसुकै हदमा जाने खतरा पनि छ । प्रधानमन्त्री र राष्ट्रपति मिलेर जे गरे पनि हुने भएको छ अहिले । संकटकालका विषयमा उहाँहरुको सहमति बनेको वा नबनेको होला, कुरा भइरहेको होला । त्यसैले खतराको घन्टी अब सकियो, लोकतन्त्र र संविधान सुरक्षित भयौं भनेर ढुक्क हुने अवस्था बनको छैन । यद्यपि संकेत सकारात्मक छन् ।’