अस्ट्रियामाथि अपराजित इटालीलाई रोक्ने चुनौती

१२ असार,  काठमाडौँ । युरोकप अन्तर्गत आजदेखि नकआउट चरणका खेलहरु हुदै छन् । आज पहिलो खेल वेल्स र डेनमार्कबीच नेपाली समय अनुसार राति ९:४५ मा हुदै छ भने दोस्रो खेल इटाली र अस्ट्रियाबीच राति १२:४५ मा हुदै छ ।

युरोकपमा अपराजित इटालीलाई रोक्ने चुनौतीका बीच अस्ट्रियाले आज इटालीको सामना गर्दै छ ।

अहिलेसम्म इटाली अस्ट्रियाविरुद्ध खेलिएका ३५ खेलमा १६ खेलमा विजयी भएको छ भने ८ खेल बराबरीमा सकिएका छन् । त्यस्तै अस्ट्रिया ११ खेलमा विजयी भएको छ ।

तर इटाली अस्ट्रियाविरुद्धका पछिल्ला १३ खेलमा भने अपराजित रहेको छ । इटाली अस्ट्रियासँग पछिल्लो पटक १९६० को डिसेम्बरमा खेलिएको मैत्रीपूर्ण खेलमा २-१ ले पराजित भएको थियो ।

पछिल्लो पटक दुवै टिम बीच २००८ को अगस्तमा भएको खेल २-२ गोलको बराबरीमा सकिएको थियो ।

त्यस्तै प्रमुख प्रतियोगितामा इटाली र अस्ट्रिया अहिलेसम्म ४ पटक विश्वकपमा खेलेका छन् भने चारै खेल इटालीले जितेको छ ।

त्यस्तै इटाली अहिले आफ्ना पछिल्ला ३० खेलमा अपराजित हुदै युरोकपको नकआउट चरणमा आइपुगेको छ । जसमा २५ जित र ५ बराबरी सामेल छन् ।

यस युरोकपमा इटालीले समुह ए मा तिनै खेल जितेर नकआउट चरणमा आएको हो । त्यस्तै अस्ट्रिया भने पहिलो पटक युरोकपको नकआउट चरणमा पुगेर इतिहास बनाएको छ । यस अघि अस्ट्रिया १९५४ को विश्वकपमा सेमिफाइनलसम्म पुगेको थियो । त्यसपछि अस्ट्रियाको यो ठुलो उपलब्धि मानिएको छ । 

समुह सी बाट दोस्रो हुदै नकआउट चरणमा आएको अस्ट्रियाले समुह चरणमा नर्थ मेसिडोनिया र युक्रेनमाथि जित हासिल गरेको थियो भने नेदरल्यान्ड्ससँग पराजित भएको थियो ।

समग्रमा यस युरोकपमा इटालीको प्रदर्शन उत्कृष्ट देखिएको छ भने अस्ट्रियालाई सजिलै पराजित गर्ने अनुमान गर्न सकिन्छ । तर यस तहको ठुलो प्रतियोगितामा कुनै पनि टिमले सजिलो नतिजा हासिल गर्छ भन्न सकिन्न । तर २०१८ को विश्वकपमा छनौट हुननसकेको इटाली त्यसपछिका दिनमा निकै उत्कृष्ट फुटबल खेलिरहेको छ । इटालीको समुह चरणको प्रदर्शनको आधारमा यस युरोकपको प्रमुख दाबेदार मध्ये एक मानिएको छ । त्यसैले इटालीलाई रोक्न अस्ट्रियालाई मुश्किल हुने देखिन्छ ।    

इङल्याण्डको वेमब्ली स्टेडियममा हुने यस खेलमा अस्ट्रियाले खासै गुमाउनु पर्ने केहि देखिदैन । तर युक्रेनविरुद्धको पछिल्लो खेललाई हेर्दा अस्ट्रियाले इटालीलाई कडा चुनौती दिनसक्ने क्षमता भने राख्दछ । त्यस्तै इटाली अलिकति बढी आत्मविश्वासी देखिएकाले सो उनीहरुका लागि घातक हुनसक्छ ।