संवैधानिक इजलासमा निवेदक पक्षले बहस गर्ने आज अन्तिम दिन

११ असार, काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज पनि बहस सुरु भएको छ । बुधबारदेखि निरन्तर सुरु भएको बहस शुक्रबार पनि विपक्षीतर्फबाट सुरु भएको हो ।

आज रिट निवेदक पक्षले बहस गर्ने अन्तिम दिन हो । आइतबारदेखि सरकारी पक्षको बहस सुरु हुनेछ ।

आज अधिवक्ताहरु सुनिल पोखरेल, दिनमणि पोखरेल, टिकाराम घट्टराई, भिमार्जुन आचार्य, ओमप्रकाश अर्याल र वरिष्ठ अधिवक्ता सविता भण्डारीसहित २३ जनाले बहस गर्ने सूची तय गरिएको छ भने उनीहरुका लागि बहसको समय पनि निर्धारण गरिएको छ । 
अहिलेसम्मका बहसहरु राष्ट्रपतिको अधिकार र संबिधानको धारा ७६ (५) को ब्याख्यामा केन्द्रित भएका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित न्यायाधीश दीपककुमार कार्की, मीरा ढुंगाना, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको संवैधानिक इजलासले विपक्षीका नाममा कारण देखाउ ओदश जारी गर्दै जेठ ९ बाट निरन्तर सुनुवाइ गर्ने आदेश दिएका थिए । सर्वोच्च अदालतले राष्ट्रपति कार्यालयसहित विपक्षीको नाममा लिखित कारण पेश गर्न आदेश दिएको थियो । 

निवेदकको तर्फबाट बहसको सुरुवातका लागि कुल १२ घण्टा र पछि जबाफी बहसका लागि ३ घण्टासहित कुल १५ घण्टा मात्र समय अदालतले तोकेको छ। मुद्दामा पक्ष तथा विपक्षका गरेर ४ सय बढी कानुन व्यवसायीले वकालतनामा दिएका छन् । 

संसद् विघटन र चुनावको घोषणा असंवैधानिक तथा अलोकतान्‍त्रिक भन्दै ३० वटा रिट सर्वोच्चमा दायर भएका छन्। सबै रिटको सुनुवाइ संवैधानिक इजलासमा जारी छ। पाँच दलका शीर्ष नेताले १४६ जना सांसदले  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति र प्रतिनिधिसभा पुनर्स्थापना गर्न परमादेश माग गर्दै सर्वोच्च अदालतमा जेठ १० गते रिट दर्ता गरेका थिए ।