गण्डकीका मुख्यमन्त्री पोखरेललाई पहिलो गाँसमै ढुंगा, मन्त्रालयको भागबण्डामा विवाद !

८ असार,  पोखरा । गण्डकी प्रदेशमा सरकार बनाएका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल मन्त्रालय विभाजनमै अल्मलिएको छ ।

काँग्रेससहित माओवादी केन्द्र, जसपासँगै स्वतन्त्र सांसद दिपक मनाङेबीच मन्त्रालयको बाडफाडमा विवाद भएपछि मुख्यमन्त्री पोखरेललाई पहिलो गाँसमै ढुंगा लागेको छ ।

पछिल्लो घटनाक्रम अनुसार माओवादी केन्द्रलाई आर्थिक मामिला तथा योजना मन्त्रालय दिने सहमति भएको बुझिएको छ ।

नयाँ सहमतिपछि भौतिक पूर्वाधार मन्त्रालय काँग्रेसले राख्ने भएको छ भने जसपालाई खानेपानी, सिंचाई, उर्जा र भूमि व्यवस्था तथा कृषि दिने सहमति बनेको बुझिएको छ ।

त्यस्तै सरकार गठनमा किङ मेकरको भूमिका निभाएका मनाङे कुन मन्त्री बन्छन भन्ने अझै टुंगो लागेको छैन । मनाङे आन्तरिक मामिला तथा कानून मन्त्रालय मागेको बताइएको छ तर मुख्यमन्त्री पोखरेलले उनलाई सामाजिक विकास र खेलकुदमध्ये एक मन्त्रालयमा मनाउने प्रयास गरिरहेको बताइएको छ ।

मन्त्रालयको भागबण्डामा विवाद भएपछि मंगलबार नै यो विषय टुंगाएर नयाँ मन्त्रीको शपथ गराउने तयारी भएको छ ।

गत जेठ २९ गते मुख्यमन्त्रीमा पोखरेलसहित काँग्रेसबाट कुमार खड्का, माओवादीबाट मधुमाया अधिकारी गुरुङ, जनता समाजवादीका हरिशरण आचार्य र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) ले बिना विभागीय मन्त्री पदको शपथ लिएका थिए ।