सिन्धुपाल्चोकका बाढी प्रभावित पालिकाहरुलाई काठमाडौँ महानगरको आर्थिक सहयोग हस्तान्तरण

८ असार,  काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सिन्धुपाल्चोकको बाढीजन्य विपत्तिमा सहयोग गर्न मेलम्ची नगरलाई २ करोड र पाँचपोखरी थाङ्पाल गाउँपालिकालाई ५० लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ ।

सोमबार वडाध्यक्ष र कार्यपालिका सदस्यसहित मेलम्ची पुगेर मेयर विद्यासुन्दर शाक्यले सहयोग रकम प्रदान गरेका हुन् ।

उक्त सहयोग मेलम्ची नगरका प्रमुख डम्बरबहादुर अर्याल र पाँचपोखरी गाउँपालिकाका अध्यक्ष टाँसी लामालाई हस्तान्तरण गरेका थिए । त्यस अवसरमा स्वास्थ्यमन्त्री शेरबहादुर तामाङ्, संघ तथा प्रदेश सभा सदस्य, महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, मेलम्ची नगरकी उपप्रमुख भगवती नेपाल, पाँचपोखरी गाउँपालिकाकी उपाध्यक्ष सुनिता अधिकारीसहित पदाधिकारीहरु सहभागी थिए ।

सहयोग रकम हस्तान्तरण अवसरमा बोल्दै स्वास्थ्यमन्त्री तामाङ्ले, विपद् व्यवस्थापन गर्न पालिकाहरु आफैले कोष बनाएर सञ्चालन गर्न सुझाव दिए । 

त्यस क्रममा महानगरका प्रमुख शाक्यले, भगिनी सहर मेलम्चीसँगै प्रभावित पाँचपोखरी थाङ्पाल र हेलम्बु गाउँपालिकाका जनतामा प्राकृतिक विपत्तिले ल्याएको दुःखमा काठमाडौँ महानगर र महानगरबासीकातर्फबाट सहयोग गर्न आएको बताए । बाढीले ल्याएको विपत्तिको कुरा सुनाउँदै मेलम्ची नगरका प्रमुख अर्यालले दुःखको घडीमा आत्मीयता प्रकट गर्न आएको काठमाडौँ महानगर परिवार आएपछि मलाई क्षति व्यवस्थापनमा थप हौसला मिलेको बताए ।

नगरका १३ वडामध्ये ४ वटा वडासँग अहिले सम्पर्क विच्छेद रहेको छ । बाढीले नगरका ६ वटा वडामा प्रभाव पारेको छ । त्यसमध्ये वडा ६, १० र ११ मा धेरै क्षति पुर्‍याएको छ । 

काठमाडौँ महानगरपालिकाको असार ३ गते बसेको नवौँ नगर सभाको पहिलो बैठकले बाढी प्रभावित मेलम्ची नगरलाई २ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको थियो । त्यस्तै असार ४ गते बसेको दोस्रो बैठकले हेलम्बु र पाँचपोखरी थाङ्पाल गाउँपालिकालाई ५० / ५० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको थियो ।