देउवासँग निधिको विद्रोह !
८ असार, काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको १४ औँ महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेसँगै अब महाधिवेशनको चहल पहल शुरु हुन थालेको छ ।
काँग्रेसको सभापति पदमा को उम्मेदवार होला भन्ने चर्चा र बहस चलिरहेका बेला सभापति शेरबहादुर देउवासहित दोस्रो तहका नेताहरुले पार्टी नेतृत्वको लागि आफ्नो पक्षमा माहोल बनाउने प्रयास शुरु गरेका छन् ।
यसमा सबैभन्दा अगाडी लामो समय देउवालाई साथ दिएका उपसभापति विमलेन्द्र निधि देखिएका छन् ।
शनिबार आइतबार सभापति देउवासँग भेटवार्ता गरेर आफुलाई सहयोग गर्न आग्रह गरेका निधिले सोमबार महामन्त्री डा. शशांक कोइराला र नेता प्रकाशमान सिंहसँग लन्च मिटिंग गरेका छन् ।
काँग्रेसमा ‘राजकुमार’ को उपनाम पाएका यी तीन नेताको भेटपछि एक किसिमको तरंग आएको छ । निधि महेन्द्रनारायण निधिका छोरा हुन् भने महामन्त्री कोइराला बीपीका तथा नेता सिंह गणेशमान सिंहका छोरा हुन् ।
यस भेटपछि काँग्रेसमा आउदो महाधिवेशनमा यस अघिका गुट भत्किने र नयाँ गुट बन्ने सम्भावना बढेको छ । तर नेताहरुबीच विश्वासको वातावरण अहिले नरहेकाले यो भेटलाई रणनीतिक भेट मात्र पनि भनिएको छ । काँग्रेसमा दोस्रो तहका नेताहरुमा एकले अर्कोलाई स्वीकार गरेर जाने अवस्था सिर्जना भएकोमा अनेक प्रश्न रहेका छन् । निधिले लामो समय देउवालाई साथ दिएकाले अहिले देउवाका विरोधीहरुसँग खोजेको साथलाई उनीहरुले कसरी लिन्छन् ? भन्ने प्रश्न उठेको छ ।
उपसभापति निधिले काँग्रेसका युवा नेता गगन थापासहितका नेताहरुसँगको भेटमा पनि यो प्रश्न उठेको छ । गगन थापा, प्रदिप पौडेल, गुरु घिमिरे सरिता प्रसाई लगायतका नेताहरुसँगको भेटमा निधिलाई उनीहरुले यो प्रश्न गरेको बुझिएको छ ।
यसका बीच सभापति उम्मेदवार बन्ने निधिको सक्रियतालाई देउवासँगको विद्रोहको रुपमा भने हेरिएको छ । यो देउवाको विपक्षमा रहेकाहरुका लागि भने उत्साहित बनाउने अवस्था रहेको देखिएको छ ।
तर पनि काँग्रेसमा देउवाको विरोधमा रहेकाहरु अहिले एक ठाउमा भने रहेका छैनन् । पौडेल पक्षका भनिएका नेताहरु प्रकाशमान सिंह आफै सभापति उम्मेदवार बन्ने दौडमा छन् । त्यस्तै डा. शशांक कोइराला र डा. शेखर कोइराला मध्ये एक जना सभापतिको उम्मेदवार बन्ने बताइएको छ । त्यस्तै केहि युवा नेताहरु वातावारण बनेमा गगन थापालाई सभापतिको उम्मेदवार बनाउने तयारीमा पनि रहेको बुझिएको छ । यसका लागि नेताहरुको गठबन्धन बनाउने प्रयास शुरु भएको छ ।
दोस्रो तहका नेताहरुले आफूविरुद्ध गठबन्धन बनाउने तयारी गरेपनि देउवाको रणनिति भने फरक देखिएको छ ।
काँग्रेसमा सभापतिका लागि देउवाले केन्द्रीय सदस्यहरुसहित प्रदेशस्तरका नेताहरुसँग परामर्श थालिसकेका छन् । उनले आफु एक पटक फेरी नेतृत्वमा जानुपर्ने अवस्था रहेको भन्दै अहिलेदेखि नै वातावरण बनाउन आग्रह गरेका छन् ।
अहिले काँग्रेसवृतमा देउवा र महामन्त्री डा. शशांक कोइराला एक ठाउमा आउने समेत चर्चा चलिरहेको छ । यसलाई पुष्टि गर्ने स्पष्ट आधार त तयार देखिएको छैन तर पछिल्ला समयमा शशांकको देउवाप्रति नरम रहेको भन्ने आरोपका बीच यस्तो अनुमान गरिएको छ ।
अहिले देउवाको आकलन विश्वासपात्र मानिएका निधि आफ्नो विरोधमा धेरै टाढासम्म जान सक्दैनन् भन्ने रहेको छ । पौडेल पक्ष या काँग्रेसका अन्य गुटले निधिलाई सभापतिमा स्वीकार गर्ने अवस्था नरहेको बताईन्छ । त्यसैले पनि देउवाले अहिले निधिलाई फकाउने भन्दा पनि अन्य नेताहरुलाई आफ्नो पक्षमा ल्याउने प्रयासमा लागेको देउवा निकट एक नेताले खरीबोटसँगको कुराकानीमा बताए ।
अब भदौको तेस्रो साता हुने काँग्रेसको महाधिवेशनमा यस अघिको जस्तो प्रष्ट दुई गुट नहुने सम्भावना भने घटनाक्रमले देखाएको छ । तर अहिले शुरुवाती अवस्था भएकाले यस बारेमा विश्लेषण गर्नु अलि हतार हुने देखिन्छ ।
प्रतिकृया दिनुहोस्