विराटले तोडे धोनीको यो रेकर्ड

६ असार,  काठमाडौँ । भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले पूर्व कप्तान महेन्द्र सिंह धोनीको रेकर्ड तोडेका छन् ।

विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा कप्तानी गरेसँगै कोहलीले टेस्ट खेलमा धोनीको धेरै खेलमा कप्तानी गरेको रेकर्ड तोडेका हुन् । कोहलीले अहिलेसम्म ६१ टेस्ट खेलमा कप्तानी गर्दै भारतका लागि सबैभन्दा धेरै खेलमा कप्तानी गर्ने रेकर्ड बनाएका हुन् । धोनीले ६० टेस्ट खेलमा कप्तानी गरेका थिए ।

भारतका लागि टेस्ट क्रिकेटमा सौरभ गांगुलीले ४९, मोहमद अजुरुद्धीन र सुनिल गावस्करले ४७-४७ खेलमा कप्तानी गरेका छन् ।

विराट धेरै खेलमा कप्तानी गर्ने मात्र होइन भारतलाई धेरै खेल जिताउने कप्तान पनि हुन् । उनको नेतृत्वमा भारतले यसअघि ६० खेलमा ३६ खेलमा जित हासिल गरेको छ भने १० खेल ड्र भएका छन् । त्यस्तै १४ खेलमा हार बेहोरेको छ ।

त्यस्तै धोनीको कप्तानीमा ६० खेल खेल्दै २७ मा जित, १५ ड्र र १८ खेलमा हार बेहोरेको छ ।