ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या पाँच लाख नाघ्यो
६ असार, काठमाडौँ । ब्राजिलमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ लाख नाघेको छ ।
ब्राजिलका स्वास्थ्यमन्त्री मार्सेलो क्वेइरोगोले कोरोनाबाट ५ लाखको मृत्यु भएकोमा दुख व्यक्त गर्दै मृतकका आफन्तहरुप्रति सहानुभूति व्यक्त गरेका छन् ।
अमेरिकापछि कोरोनाबाट धेरै मृत्यु ब्राजिलमा भएको छ । अमेरिकामा कोरोनाबाट अहिलेसम्म ६ लाख १७ हजारको मृत्यु भएको छ भने त्यसपछि भारतमा अहिलेसम्म ३ लाख ८६ हजारको मृत्यु भएको छ ।
ब्राजिलमा गत मार्चदेखि दैनिक औसत १५ सयको कोरोनाबाट मृत्यु भएको छ ।
ब्राजिलमा राष्ट्रपति जैर बोल्सोनारोले कोरोना भाइरसबाट बच्न स्वास्थ्यका मापदण्ड राम्रो सँग लागु नगरेका कारण धेरै जनाको मृत्यु भएको आरोप लाग्दै आएको छ । राष्ट्रपति बोल्सोनारोले कोरोना सामान्य भाइरस भएको भन्दै सामाजिक दुरी कायम गर्ने, मास्क लगाउने जस्ता स्वास्थ्यका मापदण्ड प्रति उदासिन रहदै आएका छन् ।
ब्राजिलमा अहिलेसम्म यहाँका ८ करोड ४० लाख मानिसले पहिलो खोप लगाएका छन् भने ६ करोड भन्दा बढीले दोस्रो मात्रा खोप पनि लगाएका छन् । ब्राजिलले यही वर्षको जनवरीदेखि यहाँका नागरिकलाई कोरोना विरुद्धको खोप दिन थालेका हुन् ।
कोरोना भाइरसको सङ्क्रमण शुरु भएबाट ब्राजिलमा हालसम्म १ करोड ७६ लाख जनाभन्दा बढीमा सो सङ्क्रमण भएको बताइएको छ । यस देशमा कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राज्यका रुपमा साओ पाओलो रहेको छ । साओ पाओलोमा मात्र एक लाख जना भन्दा बढी नागरिकको ज्यान गएको छ ।

प्रतिकृया दिनुहोस्