देउवाको बाटोमा निधि बाधक बन्लान् त ?
६ असार, काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको १४ औँ महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेसँगै अब महाधिवेशनको चहल पहल शुरु हुन थालेको छ ।
काँग्रेसको सभापति पदमा को उम्मेदवार होला भन्ने चर्चा र बहस चलिरहेका बेला संस्थापन पक्षमा नै सभापतिको उम्मेदवारका बारेमा विवाद हुने देखिएको छ ।
काँग्रेस सभापति शेरबहादुर देउवाले आफु अझै एक पटक सभापतिको उम्मेदवार बन्ने शनिबार बताएपछि संस्थापन पक्षमै विवाद र बहस शुरु भएको छ ।
सभापति देउवाले शनिबार प्रदेश १ र २ का आफुनिकट नेताहरुसँग छलफल गर्दै आफु सभापतिको उमेद्वार बन्ने बताएका छन् ।
तर देउवाको प्रस्तावपछि देउवा निकट उपसभापति विमलेन्द्र निधिले आफु उम्मेदवार बन्न चाहेको बताउदै सभापति देउवासँग सहयोग मागेपछि संस्थापन पक्षमा देउवालाई सभापतिमा समर्थन गर्न एकमत नदेखिएको हो ।
विहान आफ़ुपक्षका नेताहरुसँग छलफल गरेका देउवाले अपराहन्न पुन: निधिसहितका नेतासँग छलफलका क्रममा निधिले आफुले अहिलेसम्म सहयोग गरेकाले अब सभापतिमा आफुलाई सहयोग गर्न देउवालाई आग्रह गरेका थिए । साथै निधिले देउवालाई प्रधानमन्त्रीमा आफुले सहयोग गर्ने बताएका थिए ।
तर देउवाले भने निधिलाई सभापतिमा उठ्ने हो भने उठ्न भन्दै एक कार्यकालका लागि आफु उठ्ने निश्चित भएको बताएका थिए ।
निधि र देउवाबीच विवाद बढेमा काँग्रेसको संस्थापन पक्ष विभाजित हुनसक्ने बताइएको छ । देउवा निकट नेताहरु ज्ञानेन्द्रबहादुर कार्की, मीन विश्वकर्मा लगायतले भने आफ्नो पक्षलाई मिलाएर मात्र उम्मेदवारी घोषणा गर्न देउवालाई सल्लाह दिएका छन् ।
काँग्रेसका एक देउवा पक्षका नेताले खरीबोटसँग कुरागर्दै अहिले शुरुवाती छलफल भएकोले आआफ्ना इच्छा व्यक्त हुनु स्वाभाविक भएको बताए । महाधिवेशनको मिति नजिकिदै जादा मिलेर नै जाने सम्भावना रहेको बताउदै अन्त्यमा सभापतिका दुई उम्मेदवार नै हुने दाबि गरेका छन् ।
देउवा पक्षमा मात्र होइन काँग्रेसको पौडेल पक्षमा पनि सभापतिको उम्मेदवार बारे एक मत रहेको छैन । सभापतिमा रामचन्द्र पौडेलसँगै शेखर कोइराला, प्रकाशमान सिंह पनि सभापति लड्ने दाबि गरिरहेका छन् । अब जसरी पनि महाधिवेशन गर्नुपर्ने अवस्थामा रहेको काँग्रेसको महाधिवेशनको मिति अब नजिक आउदै गर्दा थप उम्मेदवार बन्न सक्ने देखिन्छ ।
२०७२ मा भएको महाधिवेशनमा देउवाले कृष्ण सिटौला, स्वर्गीय नेता खुमबहादुर खडक लगायतको समर्थन पाएर जितेका थिए । तर यस पटक सिटौलाले आफ्नो पक्ष स्पष्ट गरेका छैनन् । गत महाधिवेशनमा देउवा र पौडेल पक्ष स्पष्ट विभाजित भएको मा यस पटक दुवै पक्षमा देखिएको विभाजनले काँग्रेस महाधिवेशनलाई झन् रोचक र पेचिलो बनाउन लागेको देखिएको छ ।
काँग्रेसको महाधिवेशनको संशोधित तालिका :
संशोधित कार्यतालिकानुसार गाउँ-नगर वडा अधिवेशन आगामी साउन १२ गते, गाउँ-नगरपालिका अधिवेशन साउन १६ गते र प्रदेशसभा क्षेत्रीय अधिवेशन साउन २० गते हुनेछ । यसैगरी प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन-एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २३, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २६ र प्रदेश अधिवेशन भदौ १ र २ गते निर्धारण गरिएको छ ।
त्यस्तै क्रियाशील सदस्यताको नयाँ र नवीकरणको अन्तिम सूची तयार गरी केन्द्रीय सभापतिलाई बुझाउने अवधि असार २० भित्र र क्रियाशील सदस्यताका सूचीमा केन्द्रीय सभापतिबाट हस्ताक्षर भई केन्द्रीय निर्वाचन समितिलाई बुझाउने अवधि असार ३० गतेभित्र तोकिएको छ ।
प्रतिकृया दिनुहोस्