इरानमा आज राष्ट्रपति निर्वाचन, चार उम्मेदवार मैदानमा

४ असार,  काठमाडौँ । इरानमा आज राष्ट्रपति पदको निर्वाचन हुदै छ । इरानको राष्ट्रपति पदका लागि चार उम्मेदवारबीच अन्तिम प्रतिष्पर्धा हुने भएको छ ।

राष्ट्रपति पदका लागि इरानी सर्वोच्च अदालतका प्रमुख इब्राहिम राइसी, इरानको केन्द्रीय बैंकका पूर्व गभर्नर अब्दुलनासेर हेमाती, इस्लामिक रेभुलेस्नरी गार्डका पूर्व कमान्डर चिफ मोहसेन रेजाई र इरानको कन्सल्टेटिभ संसदका सदस्य अमिर होसेइन गाजीजादेह रहेका छन् ।
इरानको राष्ट्रपति निर्वाचनको दौडमा हालका प्रधानन्यायाधीश राइसी सबै भन्दा अगाडी रहेको बताइएको छ ।

इरानको राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार छनौट प्रक्रिया भने विवादमा रहेको छ । राष्ट्रपतिको उम्मेदवारको अन्तिम टुंगो एक १२ सदस्यीय काउन्सिलले लगाउने गर्दछ, जसलाई अत्यन्त रुढिवादी रहेको आरोप लाग्दै आएको छ । यस काउन्सिलले हालका प्रधानन्यायाधीशलाई राष्ट्रपति बन्न सजिलो हुनेगरी उनलाई चुनौती दिनसक्ने उम्मेदवारलाई अन्तिम प्रतिष्पर्धा अगाडीनै अयोग्य ठहराएको आरोप लागेको छ ।

निर्वाचनअघि काउन्सिलले टुंगो लगाएका तीन उम्मेदवारले भने आफ्नो नाम फिर्ता लिएको बताइएको छ ।

वर्तमान राष्ट्रपति हसन रूहानीले आफ्नो दुई कार्यकाल सकेकाले तेस्रो पटक उम्मेदवार हुन नपाउने कानुन अनुसार उनी यस पटक उम्मेदवार बन्नबाट बन्चित भएका छन् ।

राष्ट्रपतिमा निर्वाचित हुनका लागि ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्ने प्रावधान रहेको छ । कुनै उम्मेदवारले ५० प्रतिशत मत नल्याएमा फेरी निर्वाचन हुने छ ।

इरानको यस राष्ट्रपति निर्वाचनमा मतदान कम हुने डर देखिएको मिडिया रिपोर्ट सार्बजनिक भएका छन् । इरानका सर्वोच्च नेता आयातुल्लाह खामेनेईले आम नागरिकलाई व्यापक रुपमा मतदानमा भाग लिन अपिल गरेका छन् । अमेरिकाको कडा प्रतिबन्धका कारण आर्थिक संकटबाट गुज्रिरहेको इरानमा यस निर्वाचनमा हुने मतदानलाई महत्वका साथ हेरिएको छ ।

यस अघि २०१७ मा भएको राष्ट्रपति निर्वाचनमा ७३ प्रतिशत मतदान भएको थियो भने अहिले मतदान निकै कम हुने आकलन गरिएको छ । इरानी स्टुडेन्ट पोलिंग एजेन्सीले केबल ४२ प्रतिशतको हाराहारीमा मतदान हुनसक्ने बताएको छ । सर्वोच्च नेता अयातुल्लाहले पनि कम मतदान भएमा विदेशी दबाब बढ्ने भन्दै आम नागरिकलाई मतदानमा भाग लिन अपिल गरेका छन् । कम मतदान भएमा इरानको नेतृत्वमाथि अन्तर्राष्ट्रिय रुपमा प्रश्न उठ्ने आशंका गरिएको छ ।