विश्वासको मत प्राप्त गर्न सक्ने आधार परीक्षण गर्ने थलो प्रतिनिधिसभा मात्रै हो
४ असार, काठमाडौं । सभामुख अग्नि प्रसाद सापकोटाले विश्वासको मत प्राप्त गर्न सक्ने आधार परीक्षण गर्ने थलो प्रतिनिधिसभामात्रै भएको जवाफ सर्वोच्च अदालतलाई पठाएका छन् । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा महान्यायाधिवक्ताको कार्यालयमार्फत सभामुखले पेश भएको लिखित जवाफमा प्रतिनिधिसभाका १४९ जना सदस्यले ७६(५) बमोजिम प्रधानमन्त्रीमा नियुक्तिका लागि काँग्रेस सभापति शेरबहादुर देउवाको दावी परिसकेपछि विश्वासको मत प्राप्त गर्न सक्ने आधार परीक्षण गर्ने स्थल प्रतिनिधिसभा मात्रै भएको जिकिर गरेका हुन् । उनले राष्ट्रपतिलाई विश्वासको मत प्राप्त गर्न सक्ने आधारको परीक्षण गर्ने अधिकार धारा ७६(५) तथा धारा ६६ ले नदिएको भन्दै राष्ट्रपतिको निर्णय गैरसंवैधानिक रहेको जिकिर गरेका छन् ।
सभामुख सापकोटाले राष्ट्रपति र प्रधानमन्त्रीबाट भएको कदम गत फागुन ११ गतेको सर्वोच्चकै फैसला विपरित भएको पनि दावी गरेका छन् । यसअघि राष्ट्रपति कार्यालय र प्रधानमन्त्री केपी ओलीले पठाएको जवाफमा विघटन सही भएको जिकिर गरिएपनि सभामुखले भने गैरसंवैधानिक भएको दावीसहितको जवाफ पठाएका हुन् ।

प्रतिकृया दिनुहोस्