मौसमी खराबीले मनाङमै अड्किए गण्डकीका मुख्यमन्त्री

४ असार,  गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल सहितको टोली मनाङ सदरमुकाम चामेमा रोकिएको छ ।

मौसममा खराबी आएपछि टोली उद्धारमा खट्न सकेको छैन भने पोखरा समेत फर्किन पाएको छैन ।

विरल वर्षापछि आएको बाढीपहिरोले पीडितलाई औषधि, खाद्य सामग्री, टेन्ट लगायत राहत लिएर मुख्यमन्त्री सहितको टोली बिहीवार दिउँसो मनाङ गएको थियो । 

गृह मन्त्रालयको समन्वयमा व्यवस्था भएको नेपाली सेनाको हेलिकप्टरमा मुख्यमन्त्री सहितको टोलीमा मन्त्री राजीव गुरुङ (दिपक मनाङे), मनाङका सांसद चिन्तबहादुर घले सञ्चारकर्मी थिए । 

नेपाली सेनाको हेलिकप्टर उद्धारमा खटिने र प्रभू एयरको हेलिकप्टरमा टोली फर्कने योजना रहेकोमा मौसममा आएको खराबीले गाह्रो भएको गण्डकी सरकारका प्रवक्ता मन्त्री कुमार खड्काले बताए ।

प्रभू एयरको हेलिकप्टर मनाङको बगरछापमा अवतरण भएको छ । यसअघि, नेपाली सेनाको हेलिकप्टरले ३ दिनदेखि मनाङमा बाढीपहिरोमा फसेका ३५ जनाको बिहीवार हेली उद्धार गरेको छ ।

मौसममा आएको खराबीका कारण यसअघि त्यस क्षेत्रमा हेलिकप्टर जान सकेको थिएन ।

यसैबीच, मुख्यमन्त्री पोखरेलले उद्धारमा खटिएको हेलिकप्टर ‘होल्ड’ गरेर अवलोकन भन्दै निस्केकोमा सामाजिक सञ्जालमा आलोचना भएको छ ।