जसपा दल आधिकारिकताका लागि निर्वाचन आयोग जाने उपेन्द्र पक्षको निर्णय

४ असार, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव पक्षले दलको आधिकारिकता प्राप्त गर्नका लागि निर्वाचन आयोगमा निवेदन दिने निर्णय गरेको छ ।

बिहीवार बसेको पार्टी कार्यकारिणी समितिको बैठकले निर्वाचन आयोगमा निवेदन दिने निर्णय गरेको कार्यकारिणी समिति सदस्य रामसहाय यादवले लोकान्तरलाई जानकारी दिए ।

पार्टीबाट निष्कासित गरिएका व्यक्तिबाट दलको लेटर प्याड, छाप, निर्वाचन चिह्न दुरुपयोग भइरहेको भन्दै आधिकारिकता प्राप्त गर्ने प्रक्रियामा जाने निर्णय भएको छ ।

बैठकले संगठनको आन्तरिक कामकारवाही सक्रिय बनाउन मृगेन्द्रकुमार सिंह यादवको संयोजकत्वमा ७ सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलमा रामसहाय यादव, राणध्वज कान्दवा, गंगानारायण श्रेष्ठ, रेणु यादव, हिसिला यमी, ईश्तियाक राई सदस्य छन् ।

बैठकले प्रतिगमनकारी कदमविरुद्ध जसपाका सम्पूर्ण संगठन परिचालन हुने निर्णय समेत गरेको छ । बाढीपहिरो प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि सरकारसँग माग गर्र्ने निर्णय पनि गरिएको छ ।

कूल ५१ सदस्यीय कार्यकारिणी समितिमध्ये बैठक ३० जना उपस्थित रहेका यादवले बताए । अर्का अध्यक्ष महन्थ ठाकुरले बैठकलाई अवैधानिक र अनाधिकृत भन्दै विज्ञप्ति जारी गरेका थिए ।
 
संघीय सरकारमा सहभागी भएका जसपाका मन्त्रीहरूलाई स्पष्टीकरण सोधिएकोमा जवाफ दिने समय बाँकी नै भएकाले समय सकिएपछि थप निर्णय हुने यादवले बताए । पार्टीले स्पष्टीकरण दिन ७ दिनको म्याद दिएको थियो ।

लुम्बिनी प्रदेशमा पुनर्बहाली भएका ४ सांसदले दलको ह्वीप विपरीत प्रदेशसभा प्रस्तुत भएकोमा पुनः स्पष्टीकरण सोधिएको छ । यसअघि दलबाट निष्कासन गरिएका चारै सांसदलाई सर्वाेच्च अदालतको अन्तरिम आदेशले पुनर्बहाली गरेको थियो ।