मेलम्चीमा बाढीले थुपारेको माटो पानीले कटान गर्न शुरू

३ असार, काठमाडौं । मंगलवार रातिदेखि बुधवार रातिसम्म लेदोसहितको बाढी आएर मेलम्ची बजारमा ठूलो क्षति पुर्‍याएको खोला बिहानदेखि केही शान्त भएको छ । मंगलवार र बुधवारको बाढीले थुपारेको माटो पानीले कटान गर्न शुरू गरेको छ ।

मंगलवार र बुधवार मेलम्ची नदीमा हिलो माटोसहितको लेदो बगेको थियो । बाढीले ल्याएको माटोले मेलम्ची बजारलाई बगरमा परिणत गरेको थियो ।

बिहीवारदेखि खोलामा केही संग्लो पानी बग्न थालेको र थुपारेको माटो कटिङ गरिरहेको मेलम्चीमा रहेका पत्रकार आदित्य दाहालले जानकारी दिए । 

पत्रकार दाहालका अनुसार नेपाली सेनाले बिहानैदेखि बजारमा सुरक्षित रहेका सामानलाई स्थानान्तरण गरिरहेको छ । 

‘नेपाली सेनाले बजारमा रहेका सामानलाई सुरक्षित स्थानमा सारिरहेको छ,’ दाहालले भने । 

घरमा बाढी पसेर विस्थापित बनेकाहरूलाई इन्द्रावती उच्च माध्यमिक विद्यालयमा राखिएको छ । उनीहरूलाई नगरपालिकाको सहयोगमा स्वयंसेवकहरूले खाना बनाएर खुवाएका छन् ।

केही विस्थापितहरू आफन्तको घरमा गएका छन् । झण्डै ५ सय जनाजति विस्थापित भएको पत्रकार दाहालले जानकारी दिए । 

मंगलवारको बाढीका कारण सिन्धुपाल्चोकको हेलम्बुदेखि मेलाम्चीसम्मको खोला किनाराका बस्तीमा क्षति पुगेको छ ।