इरिक्सनको स्वास्थ्य अपडेट: आइसिडी डिभाइस जडान गर्न डाक्टरको सल्लाह

३ असार,  काठमाडौँ । गत शनिबार राति युरोकप अन्तर्गतको खेलमा मैदानमा ढलेका डेनमार्कका क्रिस्टियन इरिक्सनको मुटु संचालनका लागि एक अटोमेटिक मेशिन फिट गर्नुपर्ने भएको छ ।

इरिक्सनका डाक्टरले इरिक्सनको मुटु संचालनको ट्रयाक गर्न आइसीडी (इमप्लान्टेबल कार्डियोभर्टर डेफीब्रिलाटर) जडान गर्नुपर्ने बताएका हुन् । मुटु संचालनका लागि आइसिडी जडान गर्नुपर्ने डाक्टरले सल्लाह दिएको इरिक्सनका राष्ट्रिय फुटबल टिमका डाक्टर मोरटेन बोएसेनले जानकारी दिएका छन् । र खेलका क्रममा भएको कार्डियाक अट्याकपछि यो डिभाइस राख्न जरुरी भएको चिकित्सकको टोलिले निष्कर्ष निकालेको बताइएको छ ।

चिकित्सकको सल्लाहलाई इरिक्सनले स्वीकार गरेको डाक्टर बोएसेनले बताएका छन् ।


के हो आइसिडी ?

इम्प्लानटेबल कार्डियोभर्टर डिफ्रिबिलेटर (आइसिडी) ले भेन्ट्रिकुलर टेकिकार्डिया लामो समयसम्म रहिरहँदा एवं भेन्ट्रिकुलर फिब्रिलेसनमा अकस्मात बिरामीको मृत्यु हुनबाट रोक्न मद्दत गर्छ । डरलाग्दो तरिकाले अनियन्त्रित भएको मुटुलाई यसले तुरुन्त साधारण गतिमा ल्याउन मद्दत गर्छ । प्रायः कार्डियाक अरेस्टमा आइसिडी प्रयोग हुन्छ ।  


यस अघि इरिक्सनले मंगलबार सामाजिक सञ्जालमा आफ्नो स्वास्थ्य अपडेट दिदै ठिक हुदै गरेको बताएका थिए ।

इरिक्सन फेरी फुटबल मैदानमा आउने नआउने बारे भने अझै स्पष्ट भएको छैन ।

यसअघि जर्मन फरवार्ड डेनियल एंगलब्रेच २०१३ को जुलाईमा खेलको क्रममा ढलेका थिए । उनी १७ महिनाको रिकभरी पछि फेरी २०१४ नोभेम्बरमा मैदानमा फर्किएका थिए । तर उनलाई फेरी मुटुको समस्या देखिएपछि २०१८ मा सन्यास लिएका थिए ।

त्यस्तै नेदरल्याण्डका स्टार खेलाडी डेल ब्लाइन्ड  २०१९ को डिसेम्बरमा आइसीडी राखेर पनि अहिले सक्रिय फुटबल खेलिरहेका छन् ।