लकडाउनमा खान नपाएर गरीब मजदूर परिवारको हाडछाला मात्र बाँकी

२ असार, काठमाडौं । भारतको उत्तर प्रदेशमा रहेको अलीगढमा एउटा मजदूर परिवार दुई महिनादेखि भोकै पाइएको छ ।
पाँच बच्चा र महिला समेत परिवारलाई अस्पतालमा भर्ना गरिएको छ ।
महिलाकी जेठी छोरीको बिहे भइसकेको छ । ज्वाइँलाई उनीहरूको स्थिति थाहा भएपछि मलखान सिंह जिल्ला अस्पतालमा भर्ना गराए । अनि एक एनजीओलाई फोनमार्फत सूचना दिएपछि उसले आएर सहायता गरेको थियो ।
परिवारले विगत १० दिनदेखि अन्नको एउटा गेडो पनि मुखमा पार्न पाएन ।
महिलाका अनुसार, एक वर्षअघि उनको पतिको मृत्यु भएको थियो । कमाउने सदस्यको मृत्यु भएपछि परिवार भोकै पर्यो ।
महिला आफैं एक कारखानामा महिनाको चार हजार भारु तलबमा काम गर्न थालिन् । लकडाउनमा कारखाना समेत बन्द भयो । काम खोजे पनि कतै उनले पाइनन् ।
घरमा भएको दानापानी सकिन थालेपछि परिवारले मानिसहरूको दयामायाले केही खानेकुरा पाए । ठूलो छोराले दैनिक ज्यालादारी मजदूरी गरेर दानापानी जुटाए तर काम नहुँदा भोकै बस्नुपरेको थियो ।
विगत दुई महिनादेखि भरपेट खाना नपाएको पीडित परिवारको भनाइ छ । परिवारै ज्वरो तथा विभिन्न रोगबाट ग्रस्त छ ।
बालबालिकाको हालत निकै कमजोर छ तर उनीहरू निको हुने क्रममा छन् ।

प्रतिकृया दिनुहोस्