रोनाल्डोले कोकको बोतल हटाउदा सेयर बजारमा ४ बिलियन डलर गुमायो, के हो घटना ?

२ असार,  काठमाडौँ । क्रिस्टियानो रोनाल्डोले युरोकपको पत्रकार सम्मेलनमा कोका कोलाको बोतल हटाएको विषय अहिले चर्चामा रहेको छ । यो विषय चर्चामा हुनुको कारण रोनाल्डोले पत्रकार सम्मेलनमा बोल्नु अघि टेबुलबाट कोकको बोतल हटाएपछि यसको असर युरोपको सेयर बजारमा देखिएको छ ।

सो घटनापछि कोकले सेयर बजारमा ४ बिलियन डलर बजार मुल्य गुमाएको छ ।

हंगेरीको खेलअघि सोमबार भएको पत्रकार सम्मेलनमा बोल्नु अघि रोनाल्डोले कोकको बोतल हटाएर पानीको बोतल देखाउदै  पिउनु ठिक भएको बताएका थिए ।

रोनाल्डोको यस सानो कदमले कोकलाई भने ठुलो असर गरेको देखिएको छ ।

सो घटनाअघि कोकको सेयर मुल्य युरोपमा ५६.१ डलर रहेकोमा पत्रकार सम्मेलन सकिने बेलासम्म घटेर ५५.२ डलर पुगेको थियो । सेयर बजारमा कोकले १.६ प्रतिशत गुमाएपछि कुल बजार मुल्य ४ बिलियन डलर गुमाएको थियो ।

सो घटनापछि कोकले पनि प्रतिक्रिया दिदै सबैको आआफ्नो प्राथमिकता हुने बताएको छ । कोकका प्रवक्ताले युरोकपको पत्रकार सम्मेलनमा खेलाडीलाई पानी र जिरो सुगर भएको कोक दिइने बताउदै हरेकको स्वाद र आवश्यकता फरक हुनसक्ने बताएका छन् ।

३६ बर्षिय रोनाल्डोले आफ्नो स्वास्थ्यलाई चुस्त राख्न खाने कुरामा विशेष ध्यान दिने र ‘सुगर फुड’ नखाने बताईन्छ ।