अस्पतालबाट नेता खनालको ईश्वर पोखरेललाई आग्रह- ‘पार्टी मिलाउनुस् कमरेड…’

२ असार,  काठमाडौँ । थप उपचारका लागि भारतको नयाँ दिल्ली जानुअघि नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले पार्टीलाई एकताबद्ध बनाउन महासचिव ईश्वर पोखरेललाई आग्रह गरेका छन् । 

थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा उपचाररत पूर्वप्रधानमन्त्री खनाललाई आज महासचिव पोखरेलले भेट गरेका थिए । ‘पार्टी मिलाउनुस् कमरेड…’ भनी नेता खनालले महासचिव पोखरेललाई आग्रह गरेको महासचिवका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए ।

एमालेभित्रको विवाद मिलाउन दोस्रो तहका नेताहरु सक्रिय रहेका बेला उच्च नेताबीचमा पनि अनौपचारिक संवाद भइरहेको छ तर निकास निस्किसकेको छैन । 

नेता खनालको रगत जाँच गर्दा हेमोग्लोबिनको कमी देखिएको तथा ज्वरोसँगै स्वास्थ्यमा थकान महसुस हुने, श्वास फेर्न गाह्रो हुनेजस्ता समस्या देखिएपछि उनलाई गत जेठ ३१ गते अस्पताल भर्ना गरिएको थियो । केही महिनाअघि नेता खनाल कोभिड–१९ सङ्क्रमणमुक्त भएका थिए ।