चालकहरूले खोप माग्दै अत्यावश्यक सेवा अवरुद्ध

१ असार, काठमाडौं । सरकारले अत्यावश्यक वस्तुको सूचीमा राखेको पेट्रोलियम पदार्थको ढुवानी दोस्रो दिन पनि बागमती प्रदेशमा अवरुद्ध भयो । कोरोनाविरुद्धको खोप नपाएको भन्दै इन्धन ढुवानी गर्ने चालकहरूले आइतबारबाट सुरु गरेको अवरोध सोमबार पनि जारी रह्यो ।

बागमती प्रदेशका लागि भारतको बरौनीबाट पेट्रोल तथा बाराको अमलेखगन्जस्थित निगमको डिपोबाट डिजेल ढुवानी गर्ने र थानकोट प्रादेशिक डिपोबाट पम्पहरूसम्म पेट्रोलियम ढुवानी गर्ने चालकहरू खोप पाउनु पर्ने भन्दै सेवा रोकेर आन्दोलनमा उत्रिएका हुन् ।

नेपाल पेट्रोलियम ट्यांकर चालक संघमा संगठित चालकहरूले संघमा आवद्ध २४ सय चालक तथा सहचालकलाई खोपको व्यवस्था नभएसम्म आन्दोलन जारी राख्ने अडान लिएका छन् ।