युरोकपमा आज दुई महाभिडन्त: रोनाल्डोको किर्तिमानमा सबैको नजर !
१ असार, काठमाडौँ । युरोकप अन्तर्गत आज दुई खेल हुदै छन् । पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन पोर्चुगलले आज आफ्नो पहिलो खेल खेल्दै हंगेरीको सामना गर्दै छ । यो खेल नेपाली समय अनुसार आजराती ९:४५ बजे हुदै छ । त्यस्तै दोस्रो खेल राति १२:४५ बजे फ्रान्स र जर्मनीबीच हुदै छ ।
युरोकपको कठिन समुह एफ मा रहेका यी चार टिमको आज भिडन्त रोचक हुने अनुमान गर्न सकिन्छ ।
पोर्चुगल भर्सेस हंगेरी
डिफेन्डिङ च्याम्पियन पोर्चुगललाई यस युरोकपको पनि प्रबल दाबेदारको रुपमा हेरिएकाले पहिलो खेलमा कस्तो प्रदर्शन गर्दछ भन्ने चासो रहेको छ ।
क्रिस्टियानो रोनाल्डो नेतृत्वको पोर्चुगल को टिममा एक से एक खेलाडी रहेका छन् । म्यानचेस्टर युनाइटेडबाट खेल्ने ब्रुनो फेर्नानडेज, लिभरपुलबाट खेल्ने डिओगो जोटा, म्यानचेस्टर सिटीबाट खेल्ने बेर्नानडो सिल्भा, एटलेटिको म्याड्रिडबाट खेल्ने युवा खेलाडी जोआओ फेलिक्स जस्ता खेलाडीले पोर्चुगललाई बलियो टिमको रुपमा युरोकपको प्रमुख दाबेदारको रुपमा प्रस्तुत गरेको छ । त्यसबाहेक डिफेन्डर रुबेन डियाज, अनुभवी डिफेन्डर पेपेलगायत हाइप्रोफाइल खेलाडीले पोर्चुगलको टिम यस पटक पनि बलियो टिमको रुपमा युरोकपमा रहेको छ ।
हंगेरी र पोर्चुगलबीचको अहिलेसम्मको हेड टू हेड विश्लेषण गर्दा दुवै टिमबीच अहिलेसम्म १३ पटक खेल भएका छन्, जसमा हंगेरीले जित हासिल गर्न सकेको छैन । पोर्चुगलले ९ खेल जितेको छ भने ४ खेल बराबरीमा सकिएका छन् ।
यसरी आजको खेलमा हंगेरी पोर्चुगलविरुद्ध अहिलेसम्मकै पहिलो जितको खोजीमा मैदानमा उत्रिने छ भने पोर्चुगल युरोकपमा आफ्नो दबदबालाई कायम राख्न जितको लक्ष्य लिएर मैदानमा उत्रिने छ । पोर्चुगललाई युरोकपको पूर्व सन्ध्यामा डिफेन्डर जोआओ क्यान्सेलो कोरोना संक्रमित भएपछि झट्का लागेको छ । उनी प्रतियोगिताबाट नै बाहिरिएका छन् । म्यानचेस्टर सिटीबाट व्यावसायिक फुटबल खेल्ने डिफेन्डर जोआओ क्यान्सेलो युरोकपबाट बाहिरिएपछि पोर्चुगललाई ठुलो झट्का लागेको हो ।
कोरोना पोजेटिभ देखिएपछि क्यान्सेलो युरोकपबाट बाहिरिएको पोर्चुगल फुटबल फेडेरेसनले जानकारी गराएको छ । अब क्यान्सेलोको ठाउमा डिओगो डालोटलाई टिममा बोलाइएको छ ।
त्यस्तै यस विश्वकपमा रोनाल्डोको एक रेकर्डप्रति सबैको नजर हुने छ । उनी अन्तराष्ट्रिय फुटबलमा सबैभन्दा धेरै गोल गर्ने खेलाडीको सुचिमा दोस्रो स्थानमा रहेका छन् । शिर्षस्थानमा रहेका इरानका अलि दाइले १०९ गोल गरेका छन् भने रोनाल्डोले १०४ गोल गरेर उनलाई पछाईरहेका छन् । रोनाल्डो अलि दाइको किर्तिमानलाई भेट्याउन ५ गोल कमि रहेकाले रोनाल्डोले यस युरोकपमा सो रेकर्ड तोड्ने अनुमान र अपेक्षा गरिएको छ ।
फ्रान्स भर्सेस जर्मनी
आजराती हुने फ्रान्स भर्सेस जर्मनीको खेल यस युरोकपको अहिलेसम्मकै ठुलो टिमबीचको खेल हुदै छ । फ्रान्स गएको युरोकप २०१६ मा उपविजेता रहेको थियो भने त्यसपछि २०१८ को विश्वकप जितेको थियो ।
अहिले विश्वकपको च्याम्पियन रहेको फ्रान्स यस युरोकपको प्रमुख दाबेदार टिम हो । विश्वमै अहिले सबै भन्दा सन्तुलित टिम फ्रान्सलाई मानिन्छ । किलियन एम्बाप्पे, एन्टोनी ग्रीजम्यान, एन्गोलो कान्टे, पाउल पोग्वा, करिम बेन्जेमा जस्ता खेलाडी भएको फ्रान्सको टिम पनि युरोकपको बलियो दाबेदार रहेको छ । यस अघि फ्रान्सले १९८४ र २००० मा युरोकप जितेको थियो ।
त्यस्तै तीन पटक युरोकप जितेको जर्मनी सधै विश्व फुटबलमा बलियो टिमको रुपमा हेरिन्छ । जर्मनीले यस अघि १९७२, १९८० र १९९६ मा युरोकपको उपाधि जितेको थियो ।
फ्रान्स र जर्मनीको अहिलेसम्मको हेड टू हेड विश्लेषण गर्दा दुवै टिम अहिलेसम्म ३१ पटक खेलेका छन् । जसमा फ्रान्स १४ पटक विजयी भएको छ भने जर्मनी १० पटक विजयी भएको छ । त्यस्तै ७ खेल बराबरीमा सकिएका छन् ।
युस युरोकपको विजेता नै यसै समुहबाट हुने विश्लेषण भइरहेका बेला यस युरोकपकै कठिन समुह मानिएको एफ का आज हुने दुई महाभिडन्त निकै रोमान्चक हुनेमा शंका छैन ।
टिमको विश्लेषण र अहिलेसम्मको प्रदर्शन हेर्दा आजको खेलमा पोर्चुगल र फ्रान्स विजयी हुनसक्ने अनुमान गर्न सकिन्छ ।
प्रतिकृया दिनुहोस्