राप्रपा, नेतृत्व र महाधिवेशन

३१ जेठ, काठमाडौं । केहिदिन अघिदेखि राप्रपा नेतृत्वको बारेमा सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्णी देखा परेका छन् । कम्युनिष्ट, कांग्रेसविरुद्ध जनमत बढ्दै गएको वर्तमान अवस्थामा जनताले भरोसाको रुपमा हेर्दैगरेको राप्रपालाई कसरी हुन्छ आन्तरिक कलह विजारोपण गरेर पार्टीलाई तहसनहस पारी त्यसको फाइदा उठाउन कुनै गिरोह सक्रिय भएको त होइन ? भन्ने आभास हुन थालेको छ ।

आफूलाई ठूला र परिवर्तनकारी शक्ति भन्नेहरु आपसी खिचातानीको कारण टुक्रा टुक्रा हुँदैगरेको समयमा वैकल्पिक शक्तिको रुपमा स्थापित हुने क्रममा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीलाई मलजल गरी लक्ष्यमा पुर्याउन पार्टीका सबै तह र तप्काका नेता, कार्यकर्ताहरुले एजेण्डा स्थापनार्थ एकदम सोचविचारका साथ संगठन निर्माणमा जोड दिंदै अगाडि बढ्नुपर्ने समयमा नेतृत्वको प्रशंगलाई लिएर सामाजिक सञ्जालमा यो वा त्यो भनेर प्रचारवाजी गर्नु समय अनुकुल पक्कै होइन । 

कोरोना महामारीले उग्र रुप नलिएको भए अहिलेसम्ममा पार्टीको केन्द्रीय महाधिवेशन भई नयाँ नेतृत्व चयन भइसक्ने थियो । केन्द्रीय महाधिवेशनको तयारीस्वरुप स्थानीय तहदेखि क्षेत्र, जिल्लामा धमाधम अधिवेशनको कार्य हुँदैगर्दा महामारीका कारण स्थगित गर्नुपरेको जगजाहेर नै छ । केही जिल्लामा एकता महाधिवेशन सम्पन्न गरि नयाँ नेतृत्व समेत चयन भैसकेका छन् । अब कोरोना संक्रमणको दर नियमित रुपमा घट्दो रुपमा रहेको र सरकारले पनि निशेधाज्ञालाई खुकुलो बनाउँदै लगेको छ ।

अत्यधिक वहुमतप्राप्त सरकार र त्यससँग सम्बन्धित दलभित्रको आन्तरिक कचिंगलका कारण देशले यो दुर्गती भोगिरहनुपरेको अवस्थामा आम जनताको भावना र चाहना अनुसार वैकल्पिक शक्ति निर्माणको मूल उदेश्यसहित भर्खरै एकिकरण भएको राप्रपा र यसका जिम्मेवार सिपाहीहरुले फेरी त्यही पुरानै संस्कारलाई निरन्तरता दिंदै गुट, उपगुट खडा गर्ने, नेतृत्वको बारेमा अनर्गल टिकाटिप्पणी गर्नुको सट्टा सम्पूर्ण शक्ति संगठन निर्माणमा केन्द्रीत गरि अघि बढ्नुको विकल्प छैन ।

हिन्दुराष्ट्र तथा राजसंस्थाको पुनर्वहाली र स्थानीय सुदृढ शासन प्रणाली स्थापित गर्ने मूख्य एजेण्डा लिएर अघि बढेको राप्रपामा वर्तमान अवस्थामा मूल नीति प्रस्तुत गर्ने नेतृत्वप्रति शंका गर्ने, अनर्गल प्रचारबाजी गर्नेतर्फ मात्र नेता, कार्यकर्ताहरु लाग्ने हो भने न त पार्टीको उजेण्डा स्थापीत हुन सहयोग पुग्छ न त एकता मजबुत बनाउन नै बल पुग्छ । आफू राप्रपाको सदस्य हुँ भनेर घर बाहिर समेत निस्कन नसकिने अवस्थामा अलौकिक आँट र हिम्मत गरेर पार्टीले अंगिकार गरेका विचारलाई जोगाइराख्ने नेतृत्वबाट आम कार्यकर्ता एवं जनमानसले एजेण्डा स्थापीत गराउनेतर्फ अझै धेरै आशा र भरोसा गरेका छन् ।

आम जनताले भरोसा गरेको राप्रपाका नेतृत्व तहमा रहेका महानुभावहरुलाई राप्रपा बलियो भएको देख्न नचाहने शक्तिले यो वा त्यो वहानामा मोहरा बनाइरहेका छन् । राप्रपा एकिकृत भएपछि संगठनलाई तहसनहस पार्न उनीहरु निरन्तर सफल हुँदै आएको यस अघिका घटनाहरुलाई उच्च नेतृत्वले छातिमा हात राखेर ठण्डा दिमागले एकपटक सोचेमात्र पनि सतहमा देखापर्न थालेको समस्या स्वतः निराकरण हुन्छ । राप्रपामा किन जुट्ने र फुट्ने क्रम पटक–पटक दोहोरिरहन्छ ? किनकि जब राप्रपा बलियो हुँदे जाने स्थिती देखा पर्छ, त्यही शक्तिले नेतृत्व तहलाई नै दिग्भ्रमित पारेर तहसनहस पार्न सफल हुन्छ । यसपटक पनि अमूर्त शक्तिले पार्टीमा त्यस्तो हर्कतको विजारोपण गरिसकेको त होइन ?

देशको राजनीतिक माहोल तरंगीत भएको वर्तमान अवस्थामा नेतृत्व तहले आग्रह पूर्वाग्रहलाई थाँती राखेर समायोजन हुन बाँकी रहेका जिल्लाहरुमा तत्काल समायोजन गरेर अधिवेशन सम्पन्न गर्ने वातावरणको निर्माण गर्नुपर्छ र महामारीको जोखिम कम हुँदै गएको अवस्थामा सचेतताका साथ केन्द्रीय महाधिवेशन गरि एकल नेतृत्वमा पार्टीलाई गति दिने अवस्था सिर्जना गर्नु वाञ्छनीय हुन्छ । 

पार्टीको नीति, सिद्धान्त र विचारलाई स्थापीत गराउने एक सुत्रीय अभियानमा नेता, कार्यकर्ताहरु एकजुट भएर अघि बढ्दै संगठन निर्माणमा होमिने हो भने पार्टीलाई वैकल्पिक शक्ति बन्नबाट कसैले छेक्न सक्दैन । महामारीको अवस्थामा पनि सजकता अपनाउँदै स्थानीय तहदेखि जिल्ला तहसम्म अधिवेशन गरि राष्ट्रिय महाधिवेशन चाँडोभन्दा चाँडो सम्पन्न गरेर एकल नेतृत्व स्थापना गर्नु नै पार्टीको लागि हितकर देखिन्छ । 

जहाँसम्म नेतृत्वको कुरा छ, प्रजातान्त्रिक पद्धतिमा विधानले तोकेको योग्यता पुगेका जो कोही अध्यक्ष पदका प्रत्यासी बन्न सक्नुहुन्छ । यसलाई अन्यथा लिनु हुन्न । तर पार्टीको नीति, एजेण्डा र अवधारणा निर्माण गर्नेलाई नै नेतृत्व दिए मात्र एजेण्डा जिवीत रहन्छन् र स्थापित गर्न समेत सहज हुन्छ भन्ने आम कार्यकताहरुले बुझेका छन् र त्यही गर्नेछन् ।   

(लेखक तेज कुमार कुरुम्वाङ राप्रपाका केन्द्रीय कार्य सम्पादन समिति सदस्य हुनुहुन्छ) ।