खोप वितरणमा असमानता

३१ जेठ, काठमाडौँ । विश्व अहिले कोरोनाको दोस्रो लहरले जुझिरहेको बेला खोपको महत्व झन् बढेको देखिएको छ । विभिन्न औषधि निर्माता कम्पनि र सरकारले कोरोनाविरुद्धको खोप बनाएर उत्पादन थाल्दा पनि विश्वका सबै जनसंख्यालाई खोप लगाउनु पर्ने बाध्यताका कारण खोपमा अहिले शक्ति र पहुँचको भरपुर प्रयोग भएको छ ।

अहिले अमेरिका, बेलायत, चीन जस्ता शक्तिशाली देशमा खोपको कमि छैन भने यी देशमा आवश्यकता भन्दा बढी खोप उपलब्ध रहेको छ । त्यहि कमजोर र आफुले उत्पादन नगर्ने देशमा खोप पुग्न नसकेको अवस्था रहेको छ ।

अहिले एक रिपोर्टका अनुसार विश्वभर करिब २ अर्ब डोज खोप उत्पादन भइसकेको छ तर त्यो खोप असमान वितरणका कारण कहाँ गयो भन्ने अवस्था रहेको छैन ।

खोपको उत्पादन र वितरणलाई नजिकबाट हेरिरहेको ड्युक्स ग्लोबल हेल्थ इनोभेसन सेन्टर ( जीएचआइसी) ले यस बर्ष १२ अर्बभन्दा बढी डोज खोप उत्पादन हुनसक्ने बताएको छ ।  त्यस्तै खोपको उत्पादन र वितरणको डाटा विश्लेषण गरिरहेको एनालिटिक्स फर्म एयरफिनिटीका अनुसार २०२१ को अन्त्यसम्म ११.१ अर्ब खोपको उत्पादन हुने छ ।

एयरफिनिटीले पाँच बर्षभन्दामाथिका विश्वका ७५ प्रतिशत जनसंख्याका लागि १०.८२ अर्ब डोज खोप भएमा पर्याप्त हुने बताएको छ । अहिले खोप उत्पादन जति चुनौतिपूर्ण देखिएको छ त्यति नै वितरण चुनौतिपूर्ण देखिएको छ ।

खोप उत्पादनमा प्रयोग हुने कच्चा पदार्थदेखि लिएर आपूर्ति गर्ने प्रविधि र विशेषज्ञता, वितरणको नेटवर्कमा समस्या देखिएको छ ।

एयरफिनिटीले यस बर्ष विश्वमा खोप उत्पादन र आपूर्तिमा तीन कम्पनिको बोलवाला हुने बताएको छ । जसमा फाइजरले २.४७ अर्ब डोज, एस्ट्राजेनेकाले १.९६ अर्ब डोज र सिनिभ्याकले १.३५ अर्ब डोज उत्पादन गरेर बजारमा ल्याउने छन् । अहिलेसम्म उत्पादनको लक्ष्य अनुसार खोप उत्पादन गर्ने कम्पनी फाइजर र सिनोभ्याक रहेको एयरफिनिटीले बताएको छ ।

एयरफिनिटीका वरिष्ठ एनालिष्ट म्याट लिनले खोपको निर्यातमा उत्पादन हुने देशले प्रतिबन्ध लगाउदा कम विकसित देश प्रभावित भएको बताउछन । अहिले फाइजरले सबैभन्दा बढी डोज खोप उत्पादन गरेपनि धनि देशमा मात्र यसको पहुँच रहेको देखिएको छ ।

अहिलेसम्म चीनले मात्र ठुलो संख्यामा खोप उत्पादन गरेर विदेशमा निर्यात गरेको छ भने संयुक्त राष्ट्र संघको कोभ्याक्स अभियानलाई पनि उलेख्य सहयोग गरेको छ । चीनले अहिलेसम्म २६.३ करोड डोज खोप विदेशमा निर्यात गरेको छ ।

त्यस्तै रुसले अपेक्षा अनुसार खोपको उत्पादन गर्न नसकेको देखिएको छ । यसमा खोपको प्रबिधि हस्तान्तरणको विषय समस्या बनेको उल्लेख गरिएको छ । मे १७ सम्म स्पुतनिक-भी ४.२ करोड डोज उत्पादन भएको छ । जसमा १.३ करोड डोज मात्र निर्यात गरिएको छ ।

रुसले शुरुमा विश्वभर १८ उत्पादन केन्द्रबाट खोप उत्पादन गर्ने भनेपनि प्रबिधि हस्तान्तरणमा आएको समस्याका कारण अहिले कजाखस्तानमा मात्र उत्पादन भइरहेको छ । अब अगस्तदेखि भारतमा उत्पादन हुने बताइएको छ । भारतमा रुसी खोप ८५ करोड डोज उत्पादन गर्ने लक्ष्य राखिएको छ ।

त्यस्तै विश्वका कैयौं देशले खोप नपाउनुमा भारतको सीरम इन्स्टिच्युटले उत्पादन गरिरहेको कोभिशिल्डको उत्पादन र भारतमा दोस्रो लहरको असर प्रमुख कारण देखिएको छ । सीरमले विश्वको ६० प्रतिशत खोप उत्पादन गर्ने गर्दछ । तर भारतमा दोस्रो लहरको महामारीपछि सरकारले नै निर्यातमा प्रतिबन्ध लगाएपछि र सीरमको उत्पादनले भारतमै पनि खोप नपुगेपछि विश्वका कैयौं देशको खोप पाउने भरोसा टुटेको छ ।

खोप अभावमा संयुक्त राष्ट्रसंघको कोभ्याक्स अभियान पनि सोचे अनुसार सफल हुनसकेको छैन । अहिलेसम्म कोभ्याक्स अन्तर्गत १२५ देशमा ७.२ करोड डोज मात्र उपलब्ध गराइएको छ । जबकी अहिलेसम्म यस अभियानमा रहेका देशहरुमा २० प्रतिशत जनसंख्यालाई खोप पुर्याउने लक्ष्य रहेको थियो । कोभ्याक्स अन्तर्गत २०२१  को अन्त्यसम्ममा करिब२ अर्ब डोज खोप पुर्याउने लक्ष्य रहेको छ ।

एयरफिनिटीको एक अनुमान अनुसार युरोपियन युनियनसहित अमेरिका, जापान, बेलाय्र र क्यानाडामा २०२१ को अन्त्यसम्म आवश्यकता भन्दा ९० प्रतिशत बढी खोप हुने छ । एक रिपोर्टमा यी देशहरुले अतिरिक्त खोप नराखेमा कोभ्याक्समा सहभागी देशहरुको खोपको आवश्यकता पुरै पुरा हुने अवस्था बन्छ ।

अहिलेसम्म खोपको अर्डर हेर्नेहो भने ५४ प्रतिशत धनी देशहरु अर्डर रहेको छ, जबकी उनीहरुको कुल जनसंख्या १९ प्रतिशत रहेको छ ।

अहिलेसम्म क्यानाडाले ३८.१ करोड डोज अर्डर गरेको छ जुन जनसंख्याको १० गुणा बढी हो । त्यस्तै बेलायतले साढे ७ गुणा, युरोपियन युनियनले साढे ६ गुणा, अस्ट्रेलियाले साढे ७ गुणा, अमेरिकाले साढे ३ गुणा, ब्राजिलले २ गुणा भारतले जनसंख्याको २९ प्रतिशत खोप अर्डर गरेको ड्यूक ग्लोबल हेल्थ इनोभेशन सेन्टरले उल्लेख गरेको छ ।

अमेरिकाले आफ्नो देशमा अनुमति नभएको एस्ट्राजेनेकाको ६ करोड डोज अन्य देशलाई वितरण गर्ने घोषणा गरेको छ भने आफ्नो देशमा बनेको अन्य थप २ करोड खोप पनि वितरण गर्ने घोषणा गरेको छ ।

अहिलेविश्वका ठुला देशले कम र माध्यम आय भएका देशलाई खोप् सुनिश्चित गर्ने त बताइरहेका छन् तर यसको ठोस योजना र व्यबहारमा भने त्यस्तो गरेको देखिएको छैन । कोरोना संक्रमणको चक्रलाई रोक्न अब खोपको वितरणलाई सन्तुलित बनाउनु बाहेक अन्य विकल्प देखिएको छैन ।